खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २२ जना घाइँते र १६ जना सामान्य घाइँते भएका छन् ।

बा३ख ९२८५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, इलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई घाइँतेहरुलाई उपचारको लागि पठाइएको छ ।

 उक्त दुर्घटनामा अबरुद्ध भएको सडक हिजै दिउँसो सवा २ बजे जेसिबी लगाई दुर्घटना भएको बसलाई साइड लगाई बाटो सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।