विजयपुर। उपभोक्ताले आवश्यकभन्दा बढी पेट्रोल स्टोर गर्न थालेपछि पेट्रोल पम्पहरूमा हुने भीडभाडले कोभिड सङ्क्रमणको जोखिम बढेको छ ।
पेट्रोल आपूर्ति पर्याप्त भएकाले भीडभाड नगर्न सर्वसाधारणलाई आह्वान गरेको छ । धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरानमा दैनिक ३० हजार लिटर पेट्रोल खपत हुने गरेको बताए ।
तर, धरानमा बिहीबार मात्रै ७२ हजार लिटर पेट्रोल आपूर्ति भएको छ । अन्य दिन ५० हजार लिटर आपूर्ति भएको छ । त्यसैले अभाव भएको छैन’–सापकोटाले भने ।
उनले केही दिनअघि नेपाल आयल निगमले भुक्तानी अनलाइन प्रणालीबाट गर्न सुरु गरेपछि केही समस्या भए पनि अहिले सहज भएको बताए । केही दिनअघि पेट्रोल अभाव भएको थियो ।
अहिले पुनः पर्याप्त मात्रामा आपूर्ति हुन थालेपछि अभाव नभएको बताए । पहिलेको अभावलाई लिई उपभोक्ताले आवश्यकभन्दा स्टोर गरेर राख्ने गरेकाले पम्पहरूमा भीडभाड बढेको उनको बुझाइ छ ।
पम्पहरूमा भीडभाडका कारण कोभिड–१९ को सङ्क्रमण वृद्धि हुने जोखिम रहेको उनले बताए ।