भद्रपुर ।  झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ ।

ट्रक चालकले गाडी व्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले विरोध प्रर्दशनमा उत्रिएपछि घटनास्थल तनावग्रस्त बनेको हो । 

बिहीबार बिहान साढे ९ बजे भएको घट्ना पश्चात उत्पन्न विवाद सहमति हुन नसक्दा घटनास्थलमा सशस्त्र र जनपथ प्रहरी उल्लेखिय सङ्ख्यामा परिचालन गरिएको छ । मृतकका आफन्तजन र स्थानीयले मेची राजमार्ग अन्तरगतको चाराआली चन्द्रगढी सडक खण्ड अवरोध गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

घाइते भएकी प्याकुरेललाई जिल्लाबाट इन्सपेक्टर जीपी तिम्सिनाको नेतृत्वमा आएको प्रहरी टोलीले स्थलगत मुचुल्का नगरी त्रीपालमा पोको पारेर लगेको मृतककी बुहारी मार्था प्याकुरेलले आरोप लगाएकी छन् ।

आदेश दिनेको नाम सार्वजनिक हुनुपर्ने र इन्सपेक्टरलाई कारबाहीको माग गरेकी छन् । घट्नापछि पीडित परिवारसहित स्थानीयले वडा नम्बर ९ को कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा बोदार्थ दिएर निवेदन दर्ता गराएको आफन्त चक्र फुयलले बताए ।

इन्सपेक्टरले माथिको आदेश भन्दै नियमविपरीत लास लगेकोमा उद्योगीहरुको दवाव हुनसक्ने उनको भनाइ छ । घट्ना ढाकछोप गर्न प्रहरी लागि परेकाले सत्यथ्य बाहिर नल्याएसम्म परिवारले शव नबुझ्ने स्थानीयले जनाएका छन् ।  

चाराआली चन्द्रगढी सडक खण्ड अन्तरगत चन्द्रगढ जाने भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयको सडकमा भद्रपुरबाट चारआली तर्फ जादै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा भद्रपुर ९ बस्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

सार्वजनिक मुचुल्का नउठाइ शव प्रहरीले लैजानु गलत भएको कार्यवाहक अध्यक्ष रामबहादुर दाहालले बताए । घट्नाको विषयमा सत्य तथ्य बाहिर आउनु पर्ने उनको भनाइ छ । 

मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि देउनीया खोला गइरहेकी थिइन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्लाष्टिक उद्योगको रहेको प्रहरीले जनाएको छ । पानीको ट्याङकी लोड गरिएको ट्रक चाराआलीतर्फ गइरहेको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।