धरान । पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्तमा भएको बम विस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । 

सेरेना नामक होटलको कार पार्किङमा भएको बम विस्फोटमा चारजनाको ज्यान गएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको होटलको कार पाकिङमा अज्ञात समूहले बम विस्फोट गराएको जनाइएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्री सेख रसिद अहमदका अनुसार आतङ्कवादीहरूले विस्फोट गराएको दाबी गरेका छन् । उनका अनुसार चारजना हताहत भएका छन् भने १२ जनाजति घाइते भएका छन् । 

उक्त होटलमा चीनका राजदूत बसेको बताइन्छ । उनको सुरक्षार्थ खटिएका चारजना सुरक्षाकर्मीको ज्यान गएको बताइन्छ । सञ्चारमाध्यमका अनुसार विस्फोट भएको समयमा राजदूत होटलभन्दा बाहिर बैठकमा सहभागी भएका थिए । उक्त होटलमा चीनको लगानी रहेको बताइन्छ । चीनले ल्याएको ‘बेल्ट एण्ड रोड’ कार्यक्रमअन्तर्गत चीनले लगानी गरेको हो । त्यहाँका प्रहरी प्रमुख अजहर इक्रमले उक्त होटलमा चीनका राजदूत बसेको पुष्टि गरे । तर, घटना घटेको समयमा राजदूत बाहिर रहेका थिए । हालसम्म कुनै पनि समूहले घटनाको जिम्मा लिएको छैन ।