इनरुवा। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मेला सञ्चालनमा रोक लगाइएको भए पनि सुनसरीमा भने प्रशासनले मनपरी गरेको पाइएको छ । 

मन्त्रिपरिषद्को निर्णयपूर्व नै भीडभाडजन्य गतिविधिमा रोक लगाइएको भए पनि सुनसरीमा निर्णय कार्यान्वयनको सवालमा भने प्रशासन आफैले मनपरी गरेको पाइएको हो ।

जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय रहेको इनरुवामा वैशाख ८ मा भगवती मन्दिरमा लाग्ने मेला प्रहरी, प्रशासनले रोक्दा इटहरीको जब्दी, रामधुनीको धुनी मन्दिर र बर्जुलगायतका क्षेत्रमा निर्वाध मेला लागेको छ । जब्दीमा मेला लाग्नुपूर्व नै त्यसलाई रोक्न प्रशासनले निकै प्रयास गरे तापनि अन्ततः सो स्थानमा भीडभाडका साथ मेला लागेको छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष मेला नलागेको जब्दीमा यस पटक कोरोनाको दोस्रो लहरका बीच लगाइएको प्रतिबन्धका बावजुद मेला लागेको छ । 

मेलामा स्वास्थ्य मन्त्रालयको कोभिड १९ रोकथामसम्बन्धी मापदण्ड पालना भएको देखिएन । प्रहरी तैनाथीका बीच भीडभाडका साथ मेला लागेको थियो । जब्दी महारानी मन्दिर सेवा समितिका अध्यक्ष पेशलकुमार लम्सालले प्रशासनबाट इजाजत लिएर मन्दिरमा पूजाआजा गरिएको बताए ।

मन्दिर सेवा समितिलाई प्रशासनले दिएको इजाजत पत्रमा स्वास्थ्य मापदण्ड पूरा गरी मन्दिरमा पूजाआजा गर्ने भनिएको थियो । मन्दिर तथा सभा सम्मेलनमा २५ जनाभन्दा बढी सहभागी गराउन नहुने सरकारले निर्देशन गरेको छ । तर, यहाँ भने भीडभाडका साथ मेला लागेको थियो ।

समिति अध्यक्ष लम्साल स्वयम्ले पूजाआजा मात्र गर्ने भनिए तापनि मेलामा आउने व्यापारीलगायतलाई रोक्न नसकिएको बताए । मेला सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत लागेको मेला उठाउन नसकिएको प्रतिक्रिया दिए । 

यसैगरी सुनसरीकै रामधुनीमा समेत बुधबार मेला लागेको छ । विगतका वर्षभन्दा दर्शनार्थीसहित भक्तजन र मेला भर्नेको भीड पातलिए पनि मन्दिर परिसर बाहिर भने मेला लागेको थियो ।

रामधुनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले कोरोनाका कारण भीडभाड नहुने गरी मन्दिर दर्शन र पूजाआजाको मात्र प्रबन्ध मिलाइएको बताए । केही व्यापारी र मेला भर्ने आए पनि अन्यत्रजस्तो भीड भने यस पटकको रामधुनीको मेलामा नभएको कार्कीले बताए ।

मिथिला पूर्वको ठूलो मेला मानिने जब्दी र धार्मिक आस्थासँग जोडिएको रामधुनीमा राम नवमीका दिन लाग्ने मेला रोक्न नसकेको प्रशासनले सदरमुकाम इनरुवामा रहेको भगवती मन्दिरको मेला भने रोकेको छ । 

जिल्ला प्रहरी कार्यालय सामुन्नेमा रहेको मन्दिरमा वैशाख ८ गते लाग्ने मेलाको लागि व्यापारीहरू पुगे पनि प्रहरीले उनीहरूलाई हटाएको थियो । प्रहरीको उपस्थितिमा मन्दिरमा पूजा र दर्शन गर्न मात्र दिइएको थियो । प्रहरी, प्रशासनले कोरोनाको कारण देखाउँदै इनरुवामा मेला लगाउन नदिइएको जनाएको छ ।

उसले अन्यत्र लागेको मेलाको सवालमा भने खासै प्रतिक्रिया जनाउन नमाने पनि केही स्थानमा मन्दिर समितिको आग्रहमा पूजाआजा गर्न पाउने गरी इजाजत भने दिएको जनाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोरोनाको फैलँदो सङ्क्रमणलाई मध्यनजर गर्दै लागू गरिएका निर्णय पालना गराउने सवालमा स्थानीय तहसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले निर्णय पालना नभएको भन्ने गुनासोका सवालमा स्वयम् नागरिकसमेत सचेत हुन आवश्यक रहेको बताए ।

ढकालले निर्णय कार्यान्वयन गराउनतर्फ आफूहरू लागिपरेको बताए । यता कतै मेला निर्वाध लाग्ने र कतै लाग्न नदिइएको विषयलाई स्थानीय व्यापारी तथा सर्वसाधारणले भने प्रशासनको दोधारे रवैया भनेका छन् । उनीहरूले मेला एकाध स्थानबाहेक कहीँ पनि नरोकिएको बताए ।