खोर्सानी खेतीलाई व्यवसायिक बनाउन कुम्मायक गाउँपालिकाको वडा नं. १ ले अकबरे खोर्सानी विरुवा वितरण गरेको छ ।

वडाको चालु आर्थिक वर्ष ०७७–७८ को २ लाख रुपैयाँबाट खोर्सानी खेतीलाई प्रवद्र्धन गर्ने वडाको नीति छ । वडाको आप्लुङ कृषि फर्ममा ५० हजार अकबरे खुर्सानीको विरुवा उत्पादन गरी २ सय ५० कृषकलाई निःशुल्क वितरण गरेको छ । 

गत वर्ष हरियाली अभियानबाट प्रशंसा बटुलेको वडाले अकबरे खोर्सानी निःशुल्क वितरण गरेपछि खुसी लागेको कृषक इन्द्रराज सापकोटाले बताए । वडाले तीन सय विरुवा दिएको भन्दै खोर्सानीबाट आयआर्जन गर्न सहयोग पुग्ने सापकोटा बताउँछन्  ।

वडाले अकबरे खोर्सानी जनही १ सयदेखि एक हजारसम्म विरुवा वितरण गरेको छ । वडाका २ सय ५० कृषकले खोर्सानीका विरुवा निःशुल्क पाए । वर्षेनी वडाले विभिन्न प्रजातिका बोटबिरुवा दिने गरेको कृषक सुना नेम्वाङले सुनाइन् । आफूले एक सय बिरुवा पाएको भन्दै वडाको प्रशंसा गरिन् । 

अन्य खोर्सानीको भन्दा पनि अकबरे खोर्सानीको माग बजारमा राम्रो छ । खोर्सानी उत्पादन गर्दा अपनाउने विधिको बारेमा कृषकलाई परामर्श दिएकाले उत्पादनमा कुनै समस्या नहुने कृषि प्राविधिक इमकुमारी तामाङले बताइन् ।  

वडा कार्यलयले वातावरणीय पर्यावरण जोगाउने उद्देश्यले आर्थिक वर्ष ०७४–७५ मा टिक र रङ काठको ५० हजार बिरुवा वितरण गरेको थियो । ०७६–७७ मा ५० हजार खोटे सल्लाको विरुवा निःशुल्क वितरण गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षमा अकबरे खोर्सानी निःशुल्क वितरण गरेको वडा अध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । खोर्सानी खेतीलाई व्यवसायिक बनाउँदै जीविकोपार्जनमा थप सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम लागू गरिएको लावतीको भनाइ छ । 

पाँचथरको कुम्मायक गाउँपालिका अकबरे खोर्सानी खेतीको लागि सम्भावना भएको क्षेत्र हो । पर्याप्त मात्रामा सिंचाइको व्यवस्था नभए पनि उपयुक्त हावापानी भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । घरायसी प्रयोजनको लागि किसानले यसको खेती गर्दै आएका छन् । वडाले व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहित गरेको छ । 

Ramesh_Thapa_Yasok1

Ramesh_Thapa_Yaso2

Ramesh_Thapa_Yaso3

कुम्मायक १ को आप्लुङ कृषि फर्ममा उत्पादन गरेको अकबरे खोर्सानी वितरण गर्दै वडा अध्यक्ष देवेन्द्रकुमार लावती । वडाले ५० हजार विरुवा २ सय ५० जना कृषकलाई निःशुल्क वितरण गरेको छ ।  तस्बिरः ब्लाष्ट /रमेश  थापा


Ramesh_Thapa_Yaso4

Ramesh_Thapa_Yaso6