मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको कामको कदर गर्दै आफ्नै नगरको वडा नम्बर ६ मा उनलाई सम्मान गरिएको छ ।

शिव पाञ्चायन मन्दिर कुँडाले आयोजना गरेको नववर्षको शुभकामना आदान प्रदान तथा प्रवेशद्वार उद्घाटन् कार्यक्रममा उपप्रमुख वास्तोलालाई सम्मान गरिएको हो ।

१ नम्बर प्रदेशमा न्याय सम्पादनमा उत्कृष्ट काम गरेको र सो मन्दिरलाई पनि नगर उपप्रमुखको तर्फबाट नगरमार्फत्को बजेट व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंले उनलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले विपन्न र असहायमा न्यायको पहुँच पुर्याउन आफ्नो भरमग्दुर प्रयास रहने बताइन् । नगरमा पछि परेका क्षेत्रहरुको विकासका लागि समेत आफू दत्तचित्त रहेको पनि बताइन् ।

सो अवसरमा, ‘मेचीकाली हामी नेपाली’ नामक टिकटक समूहले जुटाएको सहयोगबाट ४० हजार रुपैयाँको लागतमा निर्मित मन्दिरको प्रवेशद्वारको पनि उपप्रमुख वास्तोलाले उद्घाटन् गरेकी थिइन् ।

कार्यक्रममा, ६ नम्बर वडा सदस्य सरस्वती कटुवाल, प्रदेश खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, टिकटक समूहका व्यवस्थापक गोविन्द कार्कीसहितले मन्तव्य राखे । सो मन्दिरका जग्गादाता कृष्णप्रसाद चापागाईं, मूर्तिदाता वीरबहादुर बस्नेत, आर्थिक सहयोगी मीनाकुमारी कार्की सहितको उपस्थिति रहेको थियो ।