भद्रपुर । एक वर्षअघि सघन सहरी विकास आयोजना भद्रपुरले निर्माण गरेको कल्भर्टका कारण स्थानीयको जग्गा मिचिएको पाइएको छ ।

झापाको भद्रपुर– ७   र  १०  को सिमानामा रहेको चन्द्रगढी लेखनाथ चौकदेखि पश्चिम काफ्ले टोल हँुदै देउनिया खेला जोड्ने सडकमा यस्तो पाइएको हो । सघन सहरीले मोतीचोकमा पूर्व–पश्चिम सडकलाई जोड्ने गरी ३० फिटको पक्की कल्भर्ट निर्माण गरेको थियो ।

केही दिनयताबाट भद्रपुर नगरपालिकाले पक्की नालासहित करिब ३ सय ६८ मिटर सडक फराकिलो पार्ने क्रममा एक वर्षअघि सघन सहरी विकास आयोजनाले निर्माण गरेको कल्भर्टले नै दक्षिणतर्फ दुई फिट जग्गा मिचेको निर्माणका क्रममा देखिएपछि समस्या बाहिर आएको हो ।

पहिलो चरणमा देउनिया खोलाभन्दा पूर्व ३ सय मिटर लम्बाइ छोडेर उत्तरतर्फ नाला बनाउन सुरु गरेको समितिले शिवकुमार न्यौपानेको घरसम्मको चोकमा (मोतिचोक) मा एउटै लाइनमा आएको नालालाई चोकबाट पूर्व सीताराम न्यौपाने (उपभोक्ता समिति सचिव) को जग्गाबाट दक्षिणतर्फ पवित्रादेवी नेपालको जग्गातर्फ दुई फिट झरेको सडक नाप्ने क्रममा पाइएको छ ।

उत्तर तर्फको नाला निर्माणपश्चात् दक्षिणतर्फ सिमाना छुट्याउने क्रममा निजी जग्गा मिचिएको पीडितको भनाइ छ । 

केही वर्षअघि दक्षिणतर्फको नाला मोति चोकसम्म नै खनेको तर उत्तरतर्फ करिब एकसय मिटर नाला खनिएको थिएन । सोही क्रममा सघन सहरीले चोकको दक्षिणतर्फको नालालाई आधार बनाएर पूर्व–पश्चिम सडक जोड्ने तीस फिट उत्तर लैजाँदा न्यौपानेको जग्गा जोगिएको छ ।

बाटोको अवस्था कता हुने हो भनेर सघन सहरीले उत्तरतर्फ कल्भर्ट बनाउने केही फिट छोडे पनि हालको उपभोक्ता समितिले कल्भर्ट नहेरी साविकको सडकलाई मध्यविन्दु बनाएर लैजाँदा दक्षिणतर्फका जनाता पीडित बनेका छन् । 

नालासहित सडकको चौडाइ ४० फिट रहेको छ । केही वर्षअघि वडा नम्बर १० का सदस्य तुलसी पोखरेलको नेतृत्वमा सडक मिलाउने भन्दै ग्रेडर लगाएर उत्तरतर्फको माटो काटेर दक्षिण तर्फ थुपारेको कारण पनि अहिले सडकको पूरै भाग दक्षिण झरेको स्थानीय बताउँछन् ।

ग्रेडर लगाएपछि खाल्डाखुल्डी पुर्ने क्रममा बिछ्याएको मिक्स गिट्टी बगेर दक्षिणतर्फ झरेपछि सडकको मुख्य सिमाना दक्षिणतर्फ गएको जग्गाधनीहरूको दाबी छ । सडकको दक्षिणतर्फ रहेका नेपाल, देवीप्रसाद दाहाल, लीलाकान्त घिमिरे, तेजप्रसाद अधिकारी, कुमार कोइरालालगायतको जग्गा अतिक्रमणमा परेको छ ।

नक्सामा बाटो नदेखिएकोले दुवैतर्फको जग्गा नापेर बीचबाट बराबरी सडकको नाप लिनु पर्ने पीडित तेजप्रसाद अधिकारीको माग छ । सडक दक्षिणतर्फ पेलेर ल्याएको उनले दाबी गरे । उपभोक्ता समितिको चरम लापरबाही भएको अर्का पीडित जग्गाधनी देवीप्रसाद  दाहालको आरोप छ । नाला सिधा हुनुपर्नेमा आफन्त र सचिव न्यौपानेले नियतवश नाला बाङ्गोटिङ्गो बनाएको उनले दाबी गरे । 

बाटोमा विवाद देखिएपछि आइतबार बिहान १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का (काजी), वडानम्बर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, भद्रपुर नगरपालिका इञ्जिनियर योगेन्द्र रञ्जितकार, उपभोक्ता समिति, जग्गाधनी लगायतको छलफलमा समितिका सचिव न्यौपानेको रवैया ज्यादा देखिएको थियो  ।

सरोकारवालालाई सम्झाउनको सट्टा न्यौपानेले सरोकारवालाहरूलाई अपशब्द बोल्दै आक्रमणको प्रयास गरेका थिए । गल्ती ढाकछोप गर्न ठूलो स्वरले उफ्रिएपछि इञ्जिनियर रञ्जितकारले समितिले शिष्टभाषा प्रयोग गर्न र केही अप्ठ्यारो परेमा नगरपालिकालाई जानकारी गराउन भन्दै सचेत गराएका थिए । सघन सहरीले राखेको कल्भर्ट नै दक्षिणतर्फ दुई फिट झरेका कारण यो समस्या आएको रञ्जितकारको भनाइ छ । निर्माणमा अवरोध नगरी सुचारु गर्ने सहमति भएको उनले जनाए ।