इटहरी/ लामो समयदेखि इटहरी बजार क्षेत्रको पार्किङको समस्या ज्यूँका त्यूँ छ । सहरको मुख्य चोक र निर्माणाधीन ६ लेन सडक कालोपत्रे क्षेत्र नै अहिले पार्किङस्थल बन्न थालेको छ । मुख्य हाई–वे क्षेत्र नै निजी तथा भाडाका गाडीको पार्किङस्थल बन्दा इटहरी चोक अस्त–व्यस्त बन्दै गएको छ ।

बढ्दो सहरी चाप उपमहानगरपालिकालाई टाउको दुखाइ बन्दै गएको छ । पार्किङ अभावको कारण इटहरी कुरूप बन्न थालेपछि ट्राफिक व्यवस्थापन गर्न समेत धौ धौ हुने गरेको छ । ‘पछिल्लो समय पूर्वकै कारोबारलाई लक्षित गर्दै खुलेका व्यापारिक कम्प्लेक्स तथा बैङ्किङ क्षेत्रहरू एकपछि अर्को गर्दै खुल्ने क्रम तीव्र छ, सोही अनुरूप मानिसहरूको चाप पनि बढ्दो छ तर, पार्किङस्थल भने बनेकै छैन । 

करोडौं लागतमा निर्माणाधीन ६ लेन सडकको आधा भाग अहिले पार्किङस्थल जस्तै भएको छ । सडकको दायाँ–बायाँ अहिले सवारी साधनले भरिने गरेको छ । इटहरीको मुख्य हाई–वे अहिले अस्त–व्यस्त भइरहेको बताउँछन् व्यवसायी नवराज सुवेदी । सडकको अवस्था देखेर उनी व्यङ्ग्य गर्दै भन्छन्, ‘हामी सडक बन्दैछ भनेर खुसी थियौं तर, सडक हैन पार्किङस्थल पो बनेको रहेछ ।’ हाई–वेको बिजोक भएको उनको तर्क छ ।

करोडौं लगानीमा इटहरी चोकमा सडक बने पनि त्यो सडक यात्रुहरूले उपभोग गर्न नपाएको बताउँछन् कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती । मुख्य चोक आसपास पार्किङको चरम समस्या लामो समयदेखि भए पनि अहिलेसम्म समाधान नभएको उनी बताउँछन् । बजार आसपासको हाई–वेहरू पार्किङले भरिने गरेको उनले बताए । ‘यो समस्याको समाधान तत्काल गर्नुपर्छ’ –उनी भन्छन् ।

एक वर्षअगाडि नै इटहरीको पार्किङको समस्यालाई व्यवस्थित बनाउन इटहरी–६ का वडाध्यक्ष दीपक गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यदल गठन भएको थियो । बढ्दो व्यापारिक कारोबार तथा आवागमनले इटहरी पूर्वकै प्रमुख सहरको रूपमा विकास हुँदै गएकाले सवारी आगमनलाई सहज बनाउन कार्यदल गठन भएको थियो । मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ । 

 व्यापारिक कप्लेक्स, सपिङ मलहरूले पनि सडक नै कब्जा गरिरहेका छन् । सहरमा पार्किङको व्यवस्था नै छैन । व्यावसायिक गन्तव्यमा पार्किङको समस्या बढी छ । दैनिक हजारौंको सङ्ख्यामा आउने सेवाग्राही र उपभोक्ता इटहरी क्षेत्रमा पुग्छन् । प्रतिदिन करोडौं रुपैयाँको कारोबार हुने सबैजसो बैङ्क तथा वित्तीय संस्था, सयौैं होलसेल तथा खुद्रापसल र प्रमुख पर्यटकीय गन्तव्य इटहरीमा उपभोक्ता तथा सेवाग्राहीले पार्किङका लागि निकै सास्ती खेप्नुपर्छ ।

‘इटहरीमा नुनदेखि सुनसम्म पाइन्छ, तर सवारी पार्किङ गर्ने ठाउँ पाइँदैन’–इटहरी धरान लाइनमा भेटिएका इटहरी–९ का ट्याक्टर व्यवसायी सन्तोष विष्टले भने । मालसामान खरिद गर्न विभिन्न व्यापारिक कम्प्लेक्सहरूमा ठूलो भीड लाग्ने गर्दछ । तर, सडकसँगै जोडेर बनाइएका यस्ता भवनमा किनमेल गर्न आउने उपभोक्ताले सडकमै सवारी पार्किङ गर्ने गर्दछन् । 

अझै सुरु भएन स्मार्ट पार्किङ
१६ महिनाअगाडि साढे चार महिनाभित्रमा स्मार्ट पार्किङ निर्माण सम्पन्न भएर सञ्चालनमा आउने बताएको इटहरी उपमहानगरपालिकाले हालसम्म पार्किङस्थल बनाउन सुरु समेत गरेको छैन । 

इटहरी–४ ट्याङ्ग्रा खोला उत्तर–पूर्व अधिकारी मेडिकल हलछेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङमा ६ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने बताए पनि निर्माण कार्य अहिलेसम्म सुरु समेत भएको छैन । 

इटहरी उपमहानगरको पहलमा सङ्घीय सरकारले समपूरक योजना अन्तर्गत पाँच करोड २० लाख रकम विनियजन गरिसकेको जनाएको थियो । करिब १० करोड लागतमा स्मार्ट पार्किङ निर्माण हुने भनिए पनि अहिलेसम्म निर्माणको काम सुरु नभएको इटहरी उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमिरेले बताए ।

कोरोनाको कारण निर्माण हुन नसकेको उक्त पार्किङस्थल यही वर्षभित्र सुरु गर्ने तयारीमा छौं’ उनले भने, ‘सोहीअनुसार निर्माण सुरु भए सवारी धनीले त्यहाँ पार्क गर्न ल्याएपछि सफ्टवेयरले नै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउनेछ ।’ पछि १ मिनेटमै पहिला भएको ठाउँमा ल्याइदिने व्यवस्था हुने र यो सिस्टम सबै अटोमेटिक हुने उनले बताए । त्यहाँ गाडी धुने स्मार्ट वास र कफी सपको पनि व्यवस्था हुने बताइएको छ ।