सुनसरी र मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
चलाइरहेको मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना घाइँते भएका छन् ।
आज बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को२७प ६४५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइँते भएका मोटरसाइकल चालक रंगेली–२ का २३ वर्षीय भोला शर्माको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोटर साइकल पछाडि सवार रंगेली–३ का २२ वर्षीय कासमिक मुर्मु गम्भीर घाइँते भएका छन् । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यस्तै हिजो राती पौने ८ बजे सुनसरी इटहरी–६ पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को३३ प ३२४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ४२ वर्षीय वीरेन्द्र चौधरी गम्भिर घाइँते भएका थिए ।
उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक इटहरी १२ खनार का ३८ वर्षीय सन्तोष विकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।