इनरुवा। अदालतबाट वारेण्ट जारी भएका व्यक्ति खुलेआम हिडिरहँदा समेत प्रहरीले पक्राउ गरेको छैन ।
भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने इनरुवा–८ का वडाध्यक्ष रविन्द्र मण्डलका नाममा जिल्ला अदालत सुनसरीबाट वारेण्ट जारी भए पनि उनी हालसम्म पक्राउ परेका छैनन् ।
सुनसरी प्रहरीले मण्डल फरार रहेकाले खोजी जारी रहेको बताउँदै आएको छ । यद्यपि मण्डलका छिमेकी तथा जानकार भने प्रहरीसँगकै सेटिङमा उनलाई पक्राउ नगरिएको बताउँछन् । इनरुवा र डुम्राहा आसपासमै रहेका वडाध्यक्ष मण्डल प्रहरीसँगको सेटिङकै आधारमा पक्राउ नपरेको उनीहरूको दाबी छ । स्थानीयले वडाध्यक्षले राजनीतिक पावरसमेत भिडाएर उम्किने प्रयास थालेको आशङ्का गरेका छन् ।
उनीहरूले वडाको सिफारिसका आधारमा भारतीयले नेपाली नागरिकता लिएको घटनामा स्वयम् वडाध्यक्षको संलग्नता पुष्टि हुँदासमेत प्रहरीले मण्डललाई पक्राउ नगर्नुको पछाडि आर्थिक चलखेलको आरोप लगाएका छन् ।
यता सुनसरी प्रहरीले भने मण्डल पक्राउ नपरेकाले फरार सूचीमा राखिएको बताउँछ । सुनसरीका प्रहरी प्रमुख कमल थापाले नागरिकताजस्तो संवेदनशील मुद्दामा कोही कसैलाई उन्मुक्ति दिन नसकिने बताए । उनले उक्त घटनामा संलग्नताको आधारमा मण्डललाई प्रतिवादी बनाई अनुसन्धानको प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि लगाइएको सेटिङको आरोपमा सत्यता नभएको बताए ।
एसपी थापाले फरार सूचीमा रहेका मण्डलको खोजी भइरहेको बताए । थापाले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । प्रहरीले अनुसन्धान मिसिल बुझाएपछि अदालती प्रक्रिया अघि बढ्ने उनले बताए ।
यता प्रहरीकै कर्मचारीबाट प्राप्त सूचनाअनुसार भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्षसँग जोडिएको मुद्दाको अनुसन्धान लगभग सकिएको छ । वारेण्ट जारीपश्चात् नभेटिएका वडाध्यक्षलाई फरार प्रतिवादी बनाएर मिसिल अदालतमा बुझाउने तयारी थालिएको छ । सम्भवतः एक–दुई दिनभित्रै मिसिल बुझाइँदै छ ।
प्रहरी स्रोत भन्छ, ‘वडाध्यक्ष मण्डललाई नपक्रन दलका नेताहरूसमेतको दबाव छ ।’ अदालतबाट वारेण्ट जारी भएको व्यक्ति पक्राउ परेको खण्डमा अनुसन्धान अवधिभर हिरासतमा बस्नुपर्ने भएकाले मण्डल स्वयम् केही प्रहरी अधिकारीसहित हितैषीको साथ र सहयोगमा सोझै अदालतमा हाजिर हुने दाउमा रहेको स्रोतको बुझाइ छ ।
प्रहरीले अध्यक्ष मण्डलको नाममा अदालतबाट २०७७ चैत २५ गते पक्राउ आदेश लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ आदेशको मितिले २५ दिन भित्रमा घटना अनुसन्धान मिसिल बुझाउनु पर्ने प्रावधान अनुरूपको प्रक्रिया अघि बढाइएको छ ।
मण्डल पक्राउ नपरिरहेको अवस्थाका बीच अनुसन्धान मिसिल छिट्टै बुझाउँदा आफ्नो जिम्मेबारीबाट पन्छिन पाउने भएकाले समेत प्रहरीले आफ्नो पाटोबाट मुद्दाको प्रक्रिया छिटो किनारा लगाउन खोजेको कानून व्यवसायीहरूको बुझाइ छ ।
अदालतमा फाइल बुझाइएपछि प्रतिवादीका नाममा म्याद तामेली भई सम्पर्कमा आउन सूचना जारी हुने र त्यसपछि प्रहरीले पक्राउ गर्न नपाउने भएकाले समेत ढुक्कसाथ आफू अनुपस्थित रहेको अवस्था जनाई निवेदन साथ प्रतिवादी अदालतले तोकेको अवधिभित्र हाजिर हुनसक्ने व्यवस्था रहेको छ । कानून व्यवसायीहरू यसअघिका कतिपय मुद्दामा समेत पक्राउ आदेश भए पनि पक्राउ नपरेका व्यक्ति वारेण्ट जारी भएको अवधि पार गरी सोझै अदालतमा उपस्थित हुँदै आएको उदाहरण रहेको बताउँछन् ।
अनुयायी बलात्कारको आरोप लागेका कृष्णदास समेतले पक्राउ आदेशपश्चात्को प्रहरी अनुसन्धानको अवधि हिरासतमा नबसी बाहिरै गुजारेका थिए । मण्डलले समेत अनुसन्धान अवधि छलेर सोझै अदालत हाजिर हुने बाटो रोजेको हुनसक्ने अधिकांशको अनुमान छ । यद्यपि कानून व्यवसायीहरू प्रतिवादी सोझै अदालत हाजिर भएको खण्डमा समेत उसले सोझै छुटकारा पाउने अवस्था भने नरहने बताउँछन् । अदालतले घटना र त्यसमा संलग्नताको आधार केलाई आवश्यकताअनुसार सादा तारिख, धरौटी वा पुर्पक्षमध्ये जुनकुनै फैसलासमेत गर्नसक्ने कानून व्यवसायीहरू बताउँछन् ।
वडाध्यक्ष रविन्द्र मण्डलउपर भारत विहार मुजफ्फरपुरका सोनी साहलाई झुटो विवरणका आधारमा नेपाली नागरिकताको लागि सिफारिस दिएको आरोप लागेको हो । प्रहरीले नागरिकता सिफारिस सहितका वडाको प्रक्रियामा अध्यक्षसहित तत्कालीन सचिव र केही कर्मचारीको संलग्नता देखिएको अनुसन्धानमा खुलाएको बुझिएको छ ।
वडा कार्यालयको सिफारिसमा २०७५ जेठ १५ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट भारतीयले नेपाली नागरिकता लिएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौंको अनुसन्धान आदेशपश्चात् सुनसरी प्रहरीले छानबिनको प्रक्रिया अघि बढाएको थियो ।
प्रहरी छानविनको क्रममा भारतीयलाई नेपाली नागरिकता सिफारिस गर्ने कार्यमा अध्यक्ष मण्डलसमेतको संलग्नता खुलेको थियो । वडाध्यक्ष मण्डलले भारतीय नागरिक सोनी साविक डुम्राहा–७ मा जन्मेको भनी सिफारिस दिएको पाइएको थियो । प्रहरीका अनुसार भारतीयलाई नेपाली नागरिकता दिलाउन सोही वडाकी सन्तोषी साह हलवाईले नक्कली आमा बनी सनाखत गरेकी थिइन् ।