वराहक्षेत्रमा युवाहरुले चार दिने नमुना युवा संसद् बैठक आयोजना गरे । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सभा सदस्य सर्वध्वज साँवा प्रमुख अतिथि थिए । किशोरकिशोरीको अभ्यास देखेर सांसद् साँवा मख्ख परे । मुसुमुसु हाँसे । नगर प्रमुख निलम खनाल पनि गजक्क थिए ।
हेर्दा लाग्थ्यो, साँच्चै संसद् चलिरहेको छ । मर्यादित र अनुशासित संसद् ।
प्लान नेपालको सहयोग, युथ क्रियशन सुनसरीको समन्वय र वराहक्षेत्र नगरपालिकाको आयोजनामा भएको नमूना युवा संसद् स्थापना र अभ्यास कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका सांसद् साँवाको बोल्ने पालो आयो । उनले आफ्नो अनुभव सुनाए ।
– यो संसद स्थापना चार दिनको अभ्यासले मात्र सम्भव भएको होइन । युवा किशोर– किशोरीलाई अभ्यासको थप आवश्यक्ता छ । अब यसैलाई बेस बनाएर राजनीतिसम्बन्धि, दर्शनसम्बन्धि पुस्तक पढ्नुपर्छ । असल व्यक्तिका जीवनीहरू पढ्नु पर्छ । तपाईंहरु अहिले आफ्नो शिक्षामा ध्यानाकर्षण गर्नुस् । अनि, यहींबाट कोही नेता, डाक्टर, पाइलट, इञ्जिनियर बन्न सक्नु हुनेछ ।
तपाईंहरु त सारै भाग्यमानी । सानो उमेरदेखि नै राजनीतिसम्बन्धि अभ्यास र तालिम लिने मौका पाउनु भएको छ ।
हामीले १०–१२ वर्ष भूमिगत भएर राजनीतिक अभ्यास गर्यौं । त्यतिबेलाको समय (यसरी तपाईंहरु जसरी आराम चियरमा बसेर, चिया–बिस्कुट, नास्ता चपाउँदै, मोबाइल चलाउँदै) आरामदायी थिएन ।
कति दिन भोक–भोकै बस्नु पथ्र्यो । २–३ घण्टा पलेटी कसेर अभ्यास गर्नु पथ्र्यो । बसेर बोल्नु पथ्र्यो । अनि माइक हातमा थमाइदिइन्थ्यो । हाम्रो हात खुट्टा कापेर बोल्न सक्दैनथ्यौं ।
तपाईंहरुले टेबल–कुर्सी रोस्टम अगाडि राखेर बोल्ने अभ्यास गर्न पाउनु भएको छ । यो मानेमा तपाईंहरु भाग्यमानी हो ।
हामी संसदभित्र पस्दा आफ्नो ठाउँ कहाँ हो ? भनेर ज्ञान हुँदैन थियो । कता सत्ता पक्ष, कता प्रतिपक्ष सांसद् भएर पनि अल्मलिन्थे । तपाईंहरुको यो दुई घण्टाको डेमो प्रस्तुतीकरण देखेपछि म संसदभित्रकै कार्यक्रममा छु कि भन्ने भान भयो ।
अति अनुशासनमा मर्यादापूर्वक, सरल, शिष्ट भाषामा कार्यक्रम चलाउनु भयो । बडो आन्नद लाग्यो । यद्यपि कार्यक्रममा केही कमिकमजोरी भए । तर यो चारदिने अभ्यासमा यत्तिको गर्नु भनेको यसका पछाडि ठूलो लगाव, मिहिनेत र परिश्रम छ भन्ने मैले महशुस गरेको छु ।
सुनसरीमा पहिलोपटक वराहक्षेत्र नगरपालिकामा नगर नमूना युवा संसद स्थापना तथा अभ्यास विषयक चार दिने तालिम सकिएको छ । चैत्र ३१ गतेबाट सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो ।
युवा वर्गलाई लक्षित गरेर सरकारले देशव्यापी नमूना युवा संसद् स्थापना अभ्यास कार्यक्रम सञ्चालन गरेको छ ।
युवाहरु देशका मेरुदण्ड भएकाले अबको संसदीय अभ्यास राष्ट्र निर्माण गर्न लालायित युवा पुस्तालाई दिनुपर्छ भनेर प्रदेश स्तरीय रुपमा अभ्यास कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षक प्रदेश १ का प्रधानमन्त्री युवा अभियान कार्यक्रमका अभियानता नारद गुरागाईंले बताए ।
यो अभ्यास कार्यक्रमले अब आउने युवा पुस्तालाई संसद्को गतिविधि र काम कारबाही कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको प्रशिक्षक गुरागाईंले बताए ।
अहिलेको नेतामा संसदीय ज्ञान र अभ्यासको कमि भएको महसुस गरी आउने पुस्तालाई त्यस्तो नहोस् भन्ने उदेश्य सरकारले स्थानीय तहमा यो नीति ल्याएको प्रशिक्षक गुरागाईंले बताए ।
चालु आर्थिक वर्षमा सुनसरी, खोटाङ, ताप्लेजुङ र झापाका स्थानीय तहमा तालिम हुने छ । झापा नगरपालिका र कमल गाउपालिकामा कार्यक्रम संचालन हुँदैछ ।
१ नम्बर प्रदेश र देशको ७७ वटै जिल्लामा सबै १–१ स्थानीय तहमा यो कार्यक्रम संचालन भइरहेको छ । प्रत्येक प्रदेशमा एक एकजना गरी ७ जना प्रशिक्षक छन् ।
वराहक्षेत्रमा सञ्चालित युवा संसद् बैठकमा सहभागी ३४ जना मध्ये उत्कृष्ठ आठ जनालाई छनोट गरिएको छ ।
सबैभन्दा राम्रो भूमिकामा निलन्जना रिजाल भइन् । उनले अभ्यास कार्यक्रममा राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन् । गुड विल कुसुम थापा भइन् । राम्रो भूमिकामा भूमिका रसाइली छनोट भइन् । उनले प्रतिपक्ष सांसद्को मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।
राम्रो गुण चित्रमान राई भए । उनी सभामुखको भूमिकामा थिए । अनुशासनमा अंकित ढुंगाना छानिए । राम्रो शब्द इशा रिजाल, जिम्मेवारी वहन औषत पौडेल र आत्मविश्वासीमा मिलन नायकलाई छनाट गरिएको थियो ।
आठ मध्ये प्रदेश १ छनोटमा वराहक्षेत्रबाट २ जनालाई छानेर पठाउनु पर्ने अभियानता गुरागाईंले बताए ।
जिल्ला युवा समिति र युथ क्रियशन सुनसरीको समन्वय, प्लान इन्टरनेशनल नेपालको सहयोग र वराहक्षेत्र नगरपालिकाको आयोजनामा कार्यक्रम संचालन भएको युथ क्रियशन सुनसरी वराहक्षेत्रकी अभियान्ता कल्पना कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा सभाध्यक्ष वराहक्षेत्र नगर प्रमुख निलम खनाल, प्रमुख अतिथि प्रदेश १ सांसद् सर्वध्वज साँवा थिए ।
वराहक्षेत्र ६, ७ र ९ का वडाध्यक्ष, युथ क्रियशन सुनसरी अध्यक्ष अमर राईलगायतका अतिथिको उपस्थिति थियो ।
वराहक्षेत्र नगरपालिका बाट १ लाख, प्लान इनटरनेशनल नेपाल र युथ क्रियशन सुनसरी बाट १ लाख ३५ हजार गरी जम्मा २ लाख ३५ हजारको बजेटमा वराहक्षेत्र–६ स्थित जनहित क्लबमा कार्यक्रम आयोजना गरिएको थियो ।