पथरी । मोरङको उर्लाबारी नगरपालिकामा चैत ३० गते सेवाग्राहीमाथि भएको आक्रमणमा निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) उर्लाबारी नगर कमिटी र युवासङ्घ नेपालले माग गरेका छन् ।
बिहीबार नगर कमिटी अध्यक्ष उमाकान्त गौतम र नगरका सह–इञ्चार्ज पुष्प ढकालले विज्ञप्ति जारी गर्दै छानबिनको माग गरे ।
‘यस्ता घटनाले आम नगरवासीमा त्रास उत्पन्न भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारप्रति नै वितृष्णा हुने हुँदा यस्ता गतिविधि नदोहोरिने गरी सत्य–तथ्य छानबिनको माग गर्दछौं ।’ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।
युवासङ्घ नेपाल उर्लाबारीले पनि घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । नगर अध्यक्ष योगेश बस्नेतले विज्ञप्तिमा लेखेका छन्, ‘दण्डहीनतालाई अन्त्य गर्दै निर्दोषलाई रिहाइ र दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौ ं।’
मङ्गलबार माओवादी केन्द्र उर्लाबारीले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको थियो ।
उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारी र उर्लाबारी–८ का नारायण बस्नेतमाथि आफ्नै भवनको निर्माण कार्य रोकिएकोबारे जानकारी लिन जाँदा नगर प्रमुख खड्ग फागोको अगुवाइमा आक्रमण भएको आरोप लागेको छ ।
यद्यपि पीडित बस्नेतमाथि इलाका प्रहरी कार्यालय उर्लाबारीले उल्टै अभद्र व्यवहारमा मुद्दा चलाएको पार्टीले जनाएको छ । नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले दिएको उजुरीका आधारमा बस्नेतलाई मुद्दा चलाइएको इन्स्पेक्टर कुन्दन देवको भनाइ छ ।
नगर प्रमुख फागोसहितलाई प्रतिवादी बनाउँदै दिएको ‘ठाडो निवेदन’ लाई भने प्रहरीले दर्ता गर्न अस्वीकार गरेको पीडितमध्येका विष्णुप्रसाद भण्डारीले बताए ।
बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा गत माघ ४ गतेदेखि अवरोध गरेपछि उक्त विषयमा बुझ्नका लागि नगरपालिका पुगेका थिए । यता नारायण बस्नेतकी पत्नी नीताले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै न्यायको माग गरेकी छन् ।
उनले नगर प्रमुख फागोसहितको टोलीले साङ्घातिक आक्रमण गरेको भन्दै न्यायको लागि माग गरेकी हुन् । यता उर्लाबारी नगर प्रमुख फागोले उर्लाबारीमा जेसुकै घटना भए पनि आफूलाई जोड्ने गरेको बताए ।
उनले आफूलाई आरोप मात्रै लगाएको बताए । उनले मिडियामा आएका कुराहरू झुटो रहेको बताउँदै सत्य–तथ्य बाहिर ल्याउनका लागि आग्रह गरे । उनले विराटनगरमा गरिएको पत्रकार सम्मेलनको विषयमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार भएकाले त्यस विषयमा आफ्नो कुनै पनि
प्रतिक्रिया नभएको बताए ।