झापाको भद्रपुर १० मा रहेको चैतु मन्दिर युवा क्लबको आयोजनामा बिहीबार धुमधामका साथ हिलो खेलेर पर्व मनाएका छन् ।

केटाकेटी, युवा, वयस्क,  वृद्धवृद्धा, सबै हिलाम्मे भएर रमाइलो गरेका थिए । उनीहरुले एक आपसमा हिलो छ्यापेर दिनभर पर्व मनाएका थिए । नयाँ वर्षको आगमनसगै मनाइने यो पर्वले हावा हुरीको रोकथाम हुने ,शरीर नदुख्ने, चर्मरोग नलाग्ने, परिवारमा सुखशान्ति मिल्ने विश्वास लिएर वर्षेनी पर्व मनाउदै आएको क्लबका उपाध्यक्ष हिरन राजवंशीले बताए । 

छरछिमेकी एकै ठाउँमा जम्मा भएर एकसय जनाले १ गते पानी र २ गते हिलो खेलेर पर्व मनाएको उपाध्यक्ष राजवंशीले जनाए । क्लबको आयोजनामा चैतु मन्दिर, कमलसिं चोक, केन्द्रमोड, देवनियालगायतका स्थानमा गएर हिलो खेलेको उपाध्यक्ष राजवंशीले बताए । अन्तिम दिन रङ खेलेर समापन गरिने उनको भनाइ छ । 

नयाँ वर्षको सुरुवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायमा सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे, माझीलगायत कोच जातिका समुदायले तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्छन् । 

कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ । वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताए ।

परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया बताउँछन् ।

यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । पूर्वका तीन जिल्लामा करिब तीन लाख ५० हजार कोच समुदाय रहेको अनुमान गरिएको छ । सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगञ्ज, कचनकवललगायतका स्थानीय सरकारहरुले सार्वजनिक बिदासमेत दिदै आइरहेका छन् ।