धरान । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आज (बुधबार) बाट सुरु भएको छ । 

यसपटक नयाँ वर्षकै दिन रमजान परेको हो । रमजानमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । 

उर्दू क्यालेण्डर अनुसार आज बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नु पर्ने हुन्छ । जसलाई ‘रोजा’ भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु गरिब र दीन–दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको मुख्य विशेषता हो । 

ब्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रूपमा नमाज पढ्ने गर्छन् । एक महिनापछि ब्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ ।

त्याग, तपश्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।