रियाद। साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको  छ।

साउदीको रक्षा मन्त्रालयका अनुसार शत्रुलाई सहयोग पुर्‍याई देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई सेनाले मृत्युदण्ड दिने ठहर गरेको थियो।

सैनिक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्यविरोधी गतिविधि गरे भन्ने नखुलाइकन मृत्युदण्डको फैसला सुनाइएको थियो।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी युवराज मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो।

यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए।

युवराज मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ। उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताउने गरिएको छ।