नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्लामा उम्मेदवारहरुले मनोनयन गरेका छन् । 

बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयनका लागि समय निर्धारण गरिएको छ । इटहरीस्थि लायन्स क्लबको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । मनोनयन गर्ने क्रम जारी रहेको सुनसरी महासंघका पूर्व अध्यक्ष समेत रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

प्रेस चौतारी नेपालको संस्थापन पक्षका उम्मेदवार सन्तोष काफ्लेले पहिलो मनोनयन पत्रमा बुझाएका छन् । त्यस्तै काफ्ले प्यानलबाटै सुमित्रा राईले महिला उपाध्यक्षमा मनोनयन दर्ता गरेकी छन् ।

निर्वाचन कार्यक्रमअनुसार आजै साँझ ६ बजेसम्ममा पहिलो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय भोलि दिउँसो २ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि दिउँसो ४ बजे प्रकाशन गरिने छ । 

आगामी २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पत्रकारहरुले उम्मेदवारलाई मतदान गर्ने समय निर्धारण गरिएको छ । 

प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गरिएकाले यसपाली एक जना पत्रकारले देशभरका १०७ उम्मेदवारलाई मतदान गर्दैछन् । 

केन्द्रमा ४९ जना र लेखा समिति ३ गरी ५२ जनालाई मतदान गर्नुपर्ने छ । प्रदेशमा १७ जनालाई, केन्द्रीय परिषद्मा ६ जना र प्रदेश परिषद् २० जना उम्मेदवारलाई मतदान गर्नुपर्ने भएको छ ।

सुनसरीमा प्रेस युनियन र प्रेस सेन्टरको अलाइन्स हुने देखिएको छ । प्रेस चौतारीका दुई खेमा एक्लाएक्लै भिड्ने सम्भावना देखिएको छ । अलाइन्स हुँदा अध्यक्षको उम्मेदवार प्रेस सेन्टरका तर्फबाट उठ्ने भनिए पनि यो खबर तयार पार्दासम्म कुनै निर्णय आएको छैन । तर प्रेस चौतारी संस्थापन पक्षले भने मिडिया नेपाल, प्रेस मञ्चलगायतको सहयोगमा सन्तोष काफ्लेको नेतृत्वमा चुनाव लड्दै छ । 

 sanju-nomin

nirvachan_karyakram

nirvachan_karyakram1