अफ्रिकी देश मोजाम्बिकमा मुस्लिम अतिवादी हमलामा परी केही सर्वसाधारण मारिएका छन् । उत्तरी सहर पाल्ममा भएको उक्त आक्रमणमा दर्जन बढी नागरिक मारिएका यहाँको रक्षा विभागले जनाएको छ ।

काबो डेल्गाडोस्थित ७५ हजार जनसंख्या रहेको सो सहरमा आक्रमणमा मारिएका व्यक्तिको संख्या भने यकिन भइसकेको छैन । आतंकवादी समूहले नियन्त्रणमा लिएको होटेलबाट भाग्न खोज्दा सातजना मारिएका विभागका प्रवक्ता ओमार सरंगाले जानकारी दिए ।

गएको बुधबारदेखि मुस्लिम अतिवादीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको बताइए पनि सञ्चार सेवा अवरुद्ध हुँदा उक्त दाबी पुष्टि हुन सकेको छैन । त्यस क्षेत्रबाट सयौँ स्थानीय र विदेशीको उद्धार गरिएको बताइएको छ । पाल्म र पेम्बा बन्दरगाहको आसपास मालवाहक जहाज, यात्री जहाजलगायत चढी उनीहरु भागेको समुद्री ट्राफिकको वेवसाइटमा उल्लेख छ ।

उद्धार कार्यमा सो क्षेत्रका कामदार र बासिन्दाले समेत सहयोग गरेको तर सरकार र ठूला कम्पनीले बेवास्ता गरेको आक्रमणमा बच्न सफल एक व्यक्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

– बीबीसी