विजयपुर/५६ औं अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको अवसरमा धरानमा दलित विकास समिति धरानले अन्तरक्रिया कार्यक्रम गरेको छ । 

धरानका विभिन्न राजनीतिक दल, सामाजिक तथा धार्मिक सङ्घ–संस्थाका प्रतिनिधिहरूबीच भएको अन्तरक्रियामा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले विभेद जुनसुकै क्षेत्रमा पनि हुँदै आएको बताइन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आफू नेतृत्वमा रहँदा विभेदविरुद्ध अभियान चलाएको बताए । 

ब्राह्मण समाज धरानका अध्यक्ष उद्धवप्रसाद अधिकारीले समाजको विधानमा नै स्त्री र पुरुष २ जात भनेर राखेको बताए । उनले ब्राह्मणवादी सोचमा ब्राह्मण मात्र हुन्छ भन्ने सोचाइ गलत हुनाले यसलाई हटाउन आग्रह गरे । कार्यक्रममा दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा दलित अभियन्ता रमेश गजमेरले दलित विकास समितिले सबैलाई समेट्न नसकेको बताए । कार्यक्रममा धरानका विभिन्न दलित तथा गैर दलित सङ्घ–संस्थाको उपस्थिति रहेको समितिका संयोजक किशोर परियारले जानकारी दिए ।