हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा सप्तरीमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल कुदाउने क्रममा दुर्घटना भएर चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ’अन टेस्ट’ मोटरसाइकल सप्तरीको राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । उपचारको क्रममा चालक विवेकको ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।