धरान। वराहक्षेत्र नगरपालिकाको वडा नं.१ सूर्यकुण्डमा नगरमै पहिलोपटक होम–स्टे (घरबास) सञ्चालनमा आएको छ ।

वराहक्षेत्र–१ को सूर्यकुण्ड र चियाबारी (कुलुङगाउँ) मा सुरु भएको ‘सूर्यकुण्ड सामुदायिक होम–स्टे’ लाई वराहक्षेत्र नगरपालिकाको टोलीले शनिबार सूर्यकुण्डमै पुगेर होम–स्टे दर्ताको  प्रमाण–पत्र वितरण गरेको छ । 

स्थानीय हेमकुमार राई, अर्जुन कुलुङ, चेकराज राई, तपेन्द्र राई र दीपक राईले सञ्चालनमा ल्याएको सामुदायिक होम–स्टे दर्ताको प्रमाण–पत्र वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पोखरेल, वडा नं.८ का अध्यक्ष फडिन्द्र भट्टराईलगायतले हस्तान्तरण गरे ।

प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुलुङले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा रहेको सूर्यकुण्ड र आसपासको क्षेत्रको विकासका लागि होम–स्टे सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा बोल्दै वराहक्षेत्र–८ का वडाध्यक्ष फडिन्द्रप्रसाद भट्टराईले वराहक्षेत्रमा पहिलोपटक होम–स्टे सञ्चालनमा आएको भन्दै यो क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पोखरेलले सूर्यकुण्ड क्षेत्रमा कृषि, पर्यटन र हाइकिङको सम्भावना रहेकाले नगरले यो क्षेत्रको विकासमा प्राथमिकता दिएको बताए ।

नगरमा दर्ता भएको सामुदायिक होम–स्टेमा स्थानीय परिकारहरू, अग्र्यानिक तरकारी तथा फलफूल पाइनुका साथै त्यहाँबाट सप्तकोशी र तराईका रमणीय फाँटदेखि हिमालसम्मका दृश्यावलोकन गर्न पाइने सूर्यकुण्ड ग्रामीण विकास समन्वय परिषद्का अध्यक्ष गङ्गाराम कुलुङले बताए ।