नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले सन्तोष काफ्लेको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको छ । 

महासंघ सुनसरीको निर्वाचनमा चौतारीले विगत दुई दशक अघिदेखिको सांगठनिक समीकरणको अन्त्य गर्दै आफ्नै नेतृत्वलाई अघि सारेको हो । 

चौतारी सुनसरीको आज शनिबार बसेको जिल्ला बैठकले काफ्लेलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको प्रेस चौतारी सुनसरी संयोजक शेखर ढकालले जानकारी दिए ।

पदाधिकारीमा बहुमत सदस्यलाई निर्वाचित गर्न सफल भए पनि विगत २० वर्षदेखि चौतारीको आफ्नै नेतृत्व भने थिएन । आसन्न निर्वाचनमा चौतारीकै जित सुनिश्चित रहेको जिल्ला संयोजक ढकालले दाबी गरे । 

उनले महासंघमा आफ्ना पक्षमा १ सय १० जनाभन्दा बढी सदस्य रहेको बताए । नयाँ सदस्यता वितरणमा समेत आफ्ना पक्षका पत्रकारहरुको संख्या बढिरहेको संयोजक ढकालको दाबी छ ।  

Press_Chautari

चौतारीको जिल्ला बैठकले ७ सदस्यीय निर्वाचन संयोजन समिति गठन गरेको चौतारीका जिल्ला सहसंयोजक दिनेश गजमेरले जानकारी दिए । 

अध्यक्षको नाममात्र सार्वजनिक गरे पछि कार्यदलले थप पदहरुमा उमेदवार छनौट गर्नेछ । अन्य संगठनसँग समन्वय गर्ने लगायत कार्यदलको जिम्मेवारी छ । 

अध्यक्षका उम्मेदवार काफ्ले हाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष हुन् । पत्रकार महासंघ सुनसरीमा जम्मा २६२ जना सदस्य आबद्ध छन् ।

जिल्ला, प्रदेश र केन्द्रीय समितिको चुनाव चैत २५ गते मुलुकभर एकैपटक हुने भएको छ ।