रोम । क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्षअघि राष्ट्रिय लकडाउन गरेको इटालीमा संक्रमण फैलिँदो क्रममा रहेपछि संक्रमण रोक्न फेरि संघर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

सोमबारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने जनाएको छ । इस्टर सप्ताहान्तलाई सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ‘रेड जोन’ बनाइनेछ ।

इटाली युरोपमा बेलायतपछि बढी प्रभावित मुलुक हो । इटालीको मृत्युदर बेलायतकोभन्दा कम भए पनि अन्य युरोपेली मुलुकको मृत्युदरभन्दा बढी रहेको छ । युरोपेली संघका अन्य मुलुकमा जस्तै इटालीमा खोप अभियानमा ढिलाइ भइरहेको छ ।

इटालीले आफ्नो मुलुकमा खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता दुई लाख ५० हजार अक्सफोर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने हल्लाबीच उक्त खोप प्रयोग रोकेका छन् । शुक्रबार विश्व स्वास्थ्य संगठनले रगत जम्ने कुरा सत्य भएको कुनै संकेत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो ।