वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाज र व्यवस्थापन पक्षबीच सहमति भएपछि उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको तालाबन्दी खुलेको छ ।

फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिना भित्र विज्ञापन प्रकाशित गर्ने, जोखिम भत्ता फाल्गुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ता भित्र तार्किक निष्कर्षमा पुग्ने सहमति भएको हो । 

सहमती भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिए । आइतबार समाजको नेतृत्वसँग प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर साहको उपस्थितिमा वार्ता भएको थियो ।