सन् २०१९ को अन्त्यतिर चीनबाट विश्वभर फैलिएको भनिएको कोरोना भाइरसले सन् २०२० मा अन्तर्राष्ट्रिय महामारीको रुप लियो । र, अब त्यही भाइरसको नयाँ प्रकार (स्ट्रेन) देखिएको छ । यसबाट विश्वमा फेरि अर्को चिन्ताको विषय थपिएको छ । 

यसअघि बेलायतमा देखिएको अधिक संक्रामक स्ट्रेनले जनमानसमा त्रास फैलाएको छ । यसपछि दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको कोरोना स्ट्रेन पनि खतराको रुपमा आएको छ ।

यसैबीच वैज्ञानिकले कोरोनाको एउटा नयाँ प्रकार पत्ता लगाएका छन् । कोरोनाको यो नयाँ स्ट्रेन फिनल्याण्डमा भेटिएको छ । जुन दक्षिण अफ्रिकी स्ट्रेनको उत्परिवर्तन (म्युटेसन) भनिएको छ । यसले औषधिको प्रभावलाई पनि कम गरेको तथ्य फेला परेको छ । 

फिनल्याण्डका वैज्ञानिकले यो नयाँ स्ट्रेनका अस्थायी नाम फिन–७९६ दिएका छन् । अहिलेसम्म नयाँ स्ट्रेनको एउटा मात्र संक्रमण देखिएको छ । विशेषज्ञले यसलाई दक्षिण अफ्रिकामा भेटिएको नयाँ स्ट्रेनको म्युटेसन भनेका छन् । 

फिनल्याण्डका विशेषज्ञका अनुसार कोरोना संक्रमणको दर हेर्दा यो प्रकार उत्पन्न हुने सम्भावना थिएन । स्केन्डिनेविया प्रायद्विपमा हालसम्म मात्र ५१००० संक्रमणको  तथ्यांक छ । र, ७०० को ज्यान गएको छ ।