विराटनगर। रासायनिक मलको अत्यधिक प्रयोगले मोरङको माटोमा अम्लीयपन अधिक बढेको माटो विज्ञले औंल्याएका छन् । 

प्राङ्गारिक मलको प्रयोगमा कमी आउँदा अम्लीयपन बढेको विज्ञहरू बताउँछन् । अन्नबाली, फलफूल र तरकारीको उत्पादनमा बर्सेनि ह्रास आउने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले रतुवामाई नगरपालिकामा सोमबार आयोजना गरेको माटो परीक्षण शिविरमा गरिएको परीक्षणमा मोटोमा अत्यधिक अम्लीयपन भेटिएको हो ।

माटो व्यवस्थापन निर्देशनालय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले रतुवामाई नगरपालिकाको ६, ७, ८, ९ र १० का १ सय ५ जना कृषकहरूको खेतको माटो परीक्षण गर्दा अधिकांश कृषकको खेतको मोटोमा अत्यधिक बढी अम्लीयपन देखिएको माटोविज्ञ दिगम्बर यादवले जानकारी दिए । ‘अन्नबाली उत्पादनमा ६ देखि ६.५ पिएच भएको राम्रो मानिन्छ’ माटोविज्ञ यादवले भने, ‘परीक्षण गरिएको माटोमा ३.८ देखि ४ सम्म मात्र पिएच भेटियो । यहाँको माटोमा अत्यधिक अम्लीयपन देखिएको छ । जसले गर्दा उत्पादनमा ह्रास आउने गर्दछ ।’

माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटोविज्ञ यादवले बताए । प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भएकोले किसानले यसतर्फ चासो दिनुपर्ने उनले बताए । ‘बोटबिरुवाबाट फल पाउन उत्पादनको कारकतŒव माटो, मल, जल, बिउविजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ’ माटोविज्ञ यादवले  भने, ‘माटोको उर्वराशक्ति दिगो बनाइराख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

माटोको अम्लीयपन हटाउन प्रतिकठ्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उनको भनाइ छ । ‘प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो परीक्षण गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनुपर्छ’ –उनले भने ।

प्राङ्गारिक मल र कृषि चुनमा जोड दिन माटोविज्ञको सुझाव

माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाई सन्तुलित बनाउन प्राङ्गारिक मल र कृषिचुनको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव रहेको छ । घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तह–तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सूक्ष्म जीवाणुका माध्यमबाट कुहाई प्राङ्गारिक मल बनाउन सकिने माटोविज्ञ यादवले बताए ।

उनका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ ।

उनले प्राचीनकालदेखि नै यस मललाई त्यति महŒव नदिइएको र यसलाई जथाभावी राख्ने, यसमा भएका खाद्यतŒवको संरक्षण एवम् सदुपयोगको ज्ञान, सीप अभावका कारण नेपालले एकातिर बर्सेनि करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अर्बाैं रुपैयाँ रासायनिक मल युरिया खरिदमा विदेश गइरहेको बताए । उनले भने, ‘प्राङ्गारिक तरकारी खेतीमा गोठेमलको महŒव रहेकाले यसको सुधार गरेर प्रयोग गर्नु अति आवश्यक छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले अम्लीयपन बढेको माटोमा आवश्यक पर्ने कृषिचुन परियोजनाले कृषकहरूलाई सहयोग गर्ने बताए । ‘कृषकहरूलाई आवश्यक पर्ने कृषिचुन कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्नेछ’ –उनले भने ।