धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ मा रहेको ह्रिन्छेन छ्योलिङमा २८५७ लाङ ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा शुक्रवार विविध कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटा र ह्रिन्छेन छ्योलिङ गुम्बा धनकुटा–४ संयुक्त रुपमा आयोजना गरेको ल्होछार विशेष शुभकामना आदान प्रदान कार्यक्रम गुम्बाको तेश्रो वार्षिक साधारणसभाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले समुद्धघाटन गरेका थिए । शुभकामना आदान प्रदान तथा गुम्बाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले सोनाम ल्होछारको अवसरमा सम्पुर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गरे । 

धनकुटा जिल्लाको सदरमुकाम धनकुटा वजारमा वौद्धमार्गीहरुको लागी एउटा पनि गुम्बा नभैरहेको बेलामा स्थानिय समुदायको पहल गुम्वा निर्माण भैरहेको देख्न पाउँदा आफुलाई खुशि लागेको बताए । गुम्वा निर्माण बौद्ध मार्गी समुदायको मात्र नभएर सिङ्गगो धनकुटाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए । धनकुटाको भोटे चौतारामा निर्माण हुने गुम्बा धनकुटाको गहनाको रुपमा स्थापित हुनेमा आफु विश्वस्त रहेको प्रमुख तामाङले बताए ।

कार्यक्रममा ह्रिन्छेन छ्योलिङ गुम्बा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले संस्थाको आ.व.०७६÷०७७ को सांगठानिक प्रतिवेदन प्रस्तुत् गरेका थिए भने कोषाध्यक्ष नेत्रकुमारी तामाङले गुम्बाको आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । विं.सं.२०७४ सालमा स्थापना गरिएको गुम्बाको हालसम्म २ तला ढलाई हुने चरणमा रहेको छ भने करिब सरकारी तथा स्थानिय समुदायबाट आर्थिक संकलन गरी हालसम्म ५७ लाख ८१ हजार ९ सय ६८ रुपैया खर्च भईसकेको छ । गुम्बा पुर्ण रुपमा निर्माण कार्य सम्पन्न हुदा १ करोड ८० लाख खर्च हुने गुम्बाका अध्यक्ष राधा देवी तामाङको भनाई छ ।

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा गुम्बाको तेश्रो साधारणसभामा वडा नं.४ का वडाध्यक्ष जम्शेर छारा, घेदुङका संघिय सदस्य तथा पुर्व केन्द्रिय सदस्य लालचन्द्र गोङवा, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी र्राइ, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य गरेका थिए । सो अवसरमा तामाङ संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको थियो ।