विराटनगर। मोरङको जहदा गाउँपालिका–१ धुनीटोलमा ससुराली आएका ज्वाइँले दाउ प्रहार गरेर सासूको हत्या गरेका छन् ।
श्रीमतीसँग झगडा हुँदा जहदाको धुनीटोलमा ससुराली आएका झापाको गौरीगञ्ज नगरपालिका–१३ का कुनुल भन्ने प्रेमलाल सरबरियाले दाउ प्रहार गरी जहदा–१ की ५५ वर्षीया सासू जोसनीदेवी सरबरियाको हत्या गरेका हुन् ।
सासूको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले प्रेमलाललाई पक्राउ गरेको छ । बुधबार बिहान साढे ६ बजे प्रेमलालको श्रीमतीसँग झगडा भएको थियो । ‘सामान्य विषयमा छोरी ज्वाइँको विवाद भएपछि सासू छुट्याउन जानुभएको रहेछ’ इप्रका रानीका प्रमुख इन्स्पेक्टर दीपक थापाले भने, ‘ज्वाइँले हातमा बोकेको दाउले सासू जोसनीको ठाउकोमा प्रहार गरी गम्भीर घाइते बनाए ।’
ज्वाइँले दाउ प्रहार गरी गम्भीर घाइते भएकी जोसवनीदेवीलाई उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभएपछि नोबेल मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ । नोबेलमा उपचारको क्रममा बिहीबार दिउँसो जोसनीको मृत्यु भएको इन्स्पेक्टर थापाले जानकारी दिए ।
स्थानीयका अनुसार ज्वाइँ प्रेमलाल १५ दिनअगाडि नै ससुराली आएका थिए । झापाको गौरीगञ्ज घर भएका प्रेमलालको श्रीमतीसँग प्रायः झगडा हुने गरेको स्थानीय बताउँछन् । झापामा पनि झगडा गरेपछि प्रेमलालको श्रीमती माइतीघर आएर बस्दै आएकी थिइन् । श्रीमती माइती आएपछि प्रेमलाल पनि ससुराली दुई साताअगाडि आएका थिए ।