संसद् विघटनपछि देशमा सडक आन्दोलनहरू बढ्दै गइरहेका छन् । सत्तारुढ दलकै एउटा समूह सडकमा छ भने अर्को समूह सदनमा छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चुनावको मिति तोकिसकेको अवस्था छ । चुनाव हुने नहुने अन्यौलता कायमै रहेको बेला नेपाली काङ्ग्रेसका सुनसरी सचिव तथा वरिष्ठ अधिवक्ता नेपाल बार एसोसिएसन सुनसरीका पूर्वअध्यक्ष समेत रहेका केदार भण्डारीसँग ब्लाष्ट दैनिकका धनबहादुर पुरीले गरेको कुराकानीको सम्पादित अंशः

संसद् विघटन भयो पुनःस्थापना हुने सम्भावना देख्नुभएको छ ?

–सर्वोच्च अदालतको फैसलाले मात्र यसको टुङ्गो लाग्छ । प्रधानमन्त्री केपी ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्नुभएको छ । यो असंवैधानिक कदम हाम्रो लागि मान्य छैन । पुनःस्थापना हुने वा नहुने टुङ्गो भने सर्वोच्चको फैसलाले गर्ला । 

तपाईं आफूलाई अधिवक्ता कि राजनीतिज्ञ भन्न रुचाउनुहुन्छ ? 

–मैले अहिले पेशालाई भन्दा पनि राजनीतिलाई प्राथमिकतामा राखेको छु । राजनीतिक जीवनको सुरुवात १२ वर्षको उमेरमा २०३६ सालमा बामपन्थी विद्यार्र्थी राजनीतिबाट सुरु गरेको हुँ । २०३६ सालको जनमत सङ्ग्रहमा किशोरावस्थादेखि नै अन्याय र अत्याचारका विरुद्ध लड्दै सफल अधिवक्ता बन्ने लक्ष्य थियो । केही हदसम्म म मेरो पेशाप्रति पनि आबद्ध छु । पछिल्लो समय पेशामा भन्दा पनि राजनीतिमा सक्रिय छु । २०४३ सालदेखि नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घमा प्रवेश गरेँ । अहिलेसम्म निरन्तर राजनीतिमा छु । 

संसद् पुनःस्थापना भएन भने चुनाव हुन्छ, सुनसरीमा काङ्ग्रेसको अवस्था कस्तो छ ? चुनाव जित्ला ?

–चुनाव हुने पक्का भयो भने नेपाली काङ्ग्रेस चुनावबाट भाग्दैन । त्यसमा पनि सुनसरीमा हाम्रो वर्चश्व हुन्छ । यसअघि चार निर्वाचन क्षेत्रमध्ये ३ वटा निर्वाचन क्षेत्र जितेका थियौं । आगामी दिनमा ४ वटै निर्वाचन क्षेत्रमा काङ्ग्रेसले शानदार रूपमा जित्नेमा दुईमत छैन । यो पटकको निर्वाचनमा सुनसरीका सबै क्षेत्रमा काङ्ग्रेसले वर्चश्व कायम गर्नेछ । हामी सुनसरीका सबै क्षेत्र र पालिकाहरूमा समेत जित्नेमा ढुक्क छौं । सुनसरीमा काङ्ग्रेस पहिलो शक्ति हो । 

काङ्ग्रेसभित्र पनि गुट छ, सुनसरीमा पनि त होला नि ?

–पार्टीभित्रको आन्तरिक गुट–उपगुटलाई स्वभाविक रूपमा लिनुपर्छ । आन्तरिक चुनावबाहेक सुनसरीमा पक्ष–विपक्षमा हामी लाग्दैनौं र लाग्नु पनि हुँदैन । अहिलेसम्म आफूले लाभको कुनै पद दाबी नगरी पार्टीको सन्तुलन मिलाउन एवम् सङ्गठन सुदृढीकरणमै ध्यान केन्द्रित गरेको छु । अन्य नेताहरू पनि यसरी नै लाग्नुभएको छ । नेतृत्वले सदैव नीति र सिद्धान्तलाई जिताउन आफैबाट त्याग र समर्पणको सुरुवात गर्नुपर्छ । पार्टीभन्दा ठूलो हामी होइनौं ।