इटहरी। विद्युत् प्राधिकरण इटहरीले आफ्नो थ्रीफेज मिटर भएको ग्राहकलाई स्मार्ट बनाउने काम धमाधम अगाडि बढाएको छ । औद्योगिक र व्यावसायिक प्रयोजनमा थ्रीफेज लाइन जोडेका ग्राहकको मिटर प्राधिकरणले स्मार्ट बनाउने काम तीव्र गतिमा अगाडि बढाएको हो । 

सबै थ्रीफेज मिटरलाई स्मार्टमा रूपान्तरण गर्ने काम सुरु भइसकेको विद्युत् प्राधिकरण इटहरीले जनाएको छ । हाल प्राधिकरणका मिटरहरू स्मार्ट नहुँदा समय–समयमा उद्योगी, व्यापारी र प्राधिकरणबीच महसुल विवाद उत्पन्न हुने गरेको छ । प्राधिकरणले खपतका आधारमा बिजुलीको बिल काट्ने गरेको दाबी गरे पनि व्यावसायीहरूले अन्याय हुने गरी ‘बिलिङ’ भएको आरोप लगाउने गरेका थिए । अब त्यो विवाद हट्ने छ ।

अब कुन उद्योगले कुन समयमा कति परिमाणमा बिजुली खपत ग¥यो भन्ने सम्पूर्ण तथ्याङ्क रहने गरी स्मार्ट मिटर जोड्ने काम भइरहेको विद्युत् प्राधिकरण इटहरीका प्रमुख सुरेन्द्रकुमार साहले बताए । इटहरीमा अहिले ९ सय ग्राहकको थ्रीफेज मिटरलाई स्मार्ट मिटर बनाइसकेको छ । ‘इटहरी प्राधिकरणको करिब १२ सय थ्रीफेज लाइन ग्राहकमध्ये ९ सय ग्राहककोमा स्मार्ट मिटर जडान गरिसकेका छौं’ –साहले भने । 

स्मार्ट मिटर प्रयोगमा आएपछि बिजुली चुहावट घट्ने र बक्यौता पनि नरहने प्रमुख साह बताउँछन् । ग्राहकलाई स्तरीय सेवा उपलब्ध गराउने गरी प्राधिकरणले कार्यालयबाटै मिटर रिडिङ गर्न सक्ने प्रविधियुक्त स्मार्ट मिटर जडानको काम अघि बढाएको हो । ६० दिनसम्म विद्युत् महसुल नतिरे स्मार्ट मिटरले आफै लाइन काट्ने र पैसा तिरेपछि आफै लाइन सुचारु हुनेछ ।

स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्नसक्छ । एपमार्फत् ग्राहकले विद्युत्सम्बन्धी विवरणसमेत पाउन सक्नेछन् । ‘स्मार्ट मिटर प्रयोगमा आएपछि बिजुली चुहावट रोकिने र बक्यौता रहँदैन’ विद्युत् प्राधिकरण इटहरीका सुपरभाइजर रितेश झाले भने, ‘हामी सबै मिटरहरूलाई डिजिटल बनाउने अभियानमा लागेका छौं ।’ 

करोडौं बक्यौता उठ्न बाँकी

विद्युत् प्राधिकरण इटहरीले ग्राहकहरूबाट करोडौं रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी छ । प्राधिकरणले अहिले सम्म ९ करोड ४० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण इटहरीले जनाएको छ । प्राधिकरणलाई समयमै पैसा नतिर्नेमा सरकारी कार्यालयदेखि उद्योगी व्यापारी र सर्वसाधारण रहेका छन् । इटहरी प्राधिकरणमा लामो समय देखि बक्यौता बढ्दै गएको भन्दै तत्काल विद्युत् महसुल बुझाउन सूचना जारी गरेको छ । लकडाउनको समयमा धेरै ग्राहकले शुल्क नबुझाउँदा बक्यौता बढेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले ताकेता गर्दासमेत विद्युत् महसुल नबुझाएको भन्दै बक्यौता उठाउन ताकेता गर्न थालेको प्राधिकरण इटहरीका प्रमुख सुरेन्द्रकुमार साहले बताए । 

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरण टु वे कम्युनिकेसन अर्थात् दोहोरो सञ्चार प्रणालीमा आधारित हुन्छ ।

ग्राहकले खपत गरेको बिजुलीको तथ्याङ्क ‘डाटा सेण्टर’ मा हरेक पलमा आउने र त्यसको बिलिङ लगातार भइराखेर ग्राहकसम्म पठाउने गरी यो प्रणालीमा जडान हुन्छ । यस्तो डाटा रेडियो फ्रिक्वेन्सीमा आधारित भएर सञ्चार गरिन्छ । प्राधिकरणको केन्द्रीय प्रणालीले हर समयमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले बिल तिरे नतिरेको पनि प्राधिकरणले कम्प्युटरमै बसेर हेर्न सक्छ ।

यस्तो मिटर जडान गरेपछि उपभोक्ता र प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले बिना झन्झट बिजुली खपतका तथ्याङ्क हेर्न सक्छन् । स्मार्ट मिटरिङ लागू भएपछि विद्युत् प्राधिकरणमा बिजुली खपतको तथ्याङ्क ‘रियल टाइम’ मा आउँछ । उपाभोक्ताले पनि दैनिक आफ्नो बिल कति उठिरहेको छ भनेर मिटरमै हेर्न सक्छन् । दैनिक कति बिजुली उपयोग भइरहेको छ भन्ने विवरण प्राधिकरणमा पनि आउँछ भने उपभोक्ताले मिटर हेरेरै जानकारी लिन सक्छन् ।