भण्टाबारी। भारतीय पक्ष नाका खुलाउन सहमत नहुँदा सरकारको नाका खुल्ला गर्ने निर्णय प्रभावित बनेको छ । 

भारतीय पक्षको असहमतिको कारण सुनसरीको भण्टाबारी नाका अझै खुल्न सकेको छैन । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा सुनसरी प्रशासनलाई नाका खुलाउन सर्कुलर पठाए पनि नाका खुल्न सकेको छैन । सरकारले सुनसरीको भण्टाबारीसहित भारत र चीनतर्फका गरी विभिन्न ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमणका कारण लकडाउनसँगै देशैभरका नाकाहरू बन्द गरिएकोमा सरकारी निर्णयपछि कतिपय नाका खुला भएका छन् ।

नेपाल सरकारले नाका खुलाउन राखेको शर्तमध्ये कतिपय कार्यान्वयन गराउन नसकिने भन्दै भारतीय पक्ष सहमत नभएपछि भण्टाबारी नाका खुला गर्न नसकिएको स्थानीय प्रहरीको भनाइ छ । भण्टाबारी नाका बन्द भए पनि चोरबाटो हुँदै दुवैतर्फका नागरिक भने आवत–जावत भने गर्दै आएका छन् । नाका खुलाउन सरकारले तोकेको मापदण्ड पूरा गराउन चुनौतीपूर्ण देखिएको स्थानीय अरुण यादव बताउँछन् ।

नाका खुलाउने निर्णय गर्दै सरकारले कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्टका साथै सिसिएमसीको वेबसाइटमा गएर फारम भर्नुपर्ने निर्णय कार्यान्वयनमा आउन नसक्ने भएकाले सरकारी निर्णय कार्यान्वयन गराउन सम्भव नरहेको उनको बुझाइ छ । ‘उताको मान्छे यता आएर मजदुरी गर्छन् भने यताको उता गरेर घरायसी सरसामानदेखि अन्य आवश्यक कामका निम्ति जानुपर्ने हुन्छ’ उनले भने, ‘त्यसैले व्यावहारिक हिसाबले त्यस्तो मापदण्ड पूरा गर्न सकिन्छजस्तो लाग्दैन ।’ 

‘खुला सीमा छ’ यादवले भने, ‘त्यस्तो झन्झटिलो प्रक्रिया अपनाउनु भन्दा कतिपय सर्वसाधारण चोरबाटोबाट आवत–जावत गर्दै आएका छन् ।’ बन्द नाका पहिलेकै जस्तै निर्वाधरूपमा खुलाउनु पर्ने दबावपछि सरकारले गरेको नाका खुला गर्ने निर्णय कार्यान्वयनमा आएको छैन । ‘कोरोनाको त्रास कम भएपछि नाका खुलाउन सरकारमाथि दबाव छ’ कोशी गाउँपालिका–८ का वडाध्यक्ष विन्देश्वर यादव भन्छन्, ‘तर, सरकारले खुला गर्ने निर्णय गरेर पनि भण्टाबारी नाका खुला भएको छैन । बन्द भएपनि जिल्लाका विभिन्न नाकाको चोरबाटो हुँदै आर्थिक सेटिङमा आवत–जावत हुनुका साथै तस्करी हुने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ ।

‘सीमा क्षेत्रका सर्वसाधारण कोरोना महामारीअघि भारतीय बजारमा पुगेर सस्तो दरमा दैनिक उपभोग्य वस्तु किन्ने गर्थे’ अध्यक्ष यादवले भने, ‘तर, नाका सिल भएदेखि जान पाएका छैनन् ।’ ‘खुला बोर्डर भएका कारण केही व्यक्ति चोरबाटोबाट आउजाउ गर्छन् होला’ उनले थपे, ‘तर, सयौं व्यक्तिको दैनिकी कष्टकर भएको छ । सरकारबाट निर्णय भएर खुला नभएको भण्टाबारी नाका खुलाउनका निम्ति पहल गरिदिन यादवले आग्रह गरे । सरकारले तोकेको मापदण्डअनुसार निर्णय कार्यान्वयन गराउने दायित्व भएकाले आफूहरूले समेत आफ्नोस्तरबाट सहयोग गर्न तयार रहेको उनले बताए । ‘सरकारले निर्णय गरेको भोलिपल्ट गाउँपालिकाबाट स्वास्थ्य सामग्री बन्दोबस्त गरेर स्वास्थ्यकर्मीको टोली नाकामा आयो’ उनले भने, ‘तर, सरकारले तोकेको मापदण्ड कार्यान्वयन गराउन नसकिने भन्दै भारतीय पक्ष मानेको छैन ।’

नाकाबाट नेपाल आउने यात्रुले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइट सिसिएमसीमा रहेको अब्रोड रिटर्निङ म्यानेजमेन्ट सिस्टममा अनलाइन फारम अनिवार्य गरेको हुँदा भारतीय पक्ष त्यसमा सहमत नहुँदा नाका खुलाउन नसकिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काको भनाइ छ । ‘हामीले एकतर्फी नाका खुलाएर भएन’ उनले भने, ‘भारतीय पक्ष पनि सहमत हुनुपर्ने हो तर, उहाँहरू सिसिएमसीको फारम भर्न झन्झटिलो भएको बताउदै भण्टाबारी नाका खुलाउन चाहेको छैन । आफूहरूले आएको निर्देशन कार्यान्वयन गराउनुबाहेक अरू केही गर्न नसक्ने भएकाले स्थानीय सर्वसाधारणको पीडा बुझेर पनि रिपोर्ट दिनुबाहेक केही गर्न सकिने अवस्था नरहेको इन्स्पेक्टरको खड्काको भनाइ छ । सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन नसकेको कुरा आफूकहाँ पनि आउने गरेको बताउँदै सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलले सरकारबाट भएको निर्णयअनुसार नै नाका खुला गरिने बताए ।