भद्रपुर। झापाको भद्रपुरस्थित मेची पारिको टापु भनेर वर्षौंयताबाट परिचित गाउँलाई जोड्न मेचीनदीमा निर्माण भएको झोलुङ्गे पुल सङ्कटमा परेको छ । पुलको पूर्वमेची किनारमा तटबन्ध निर्माण नगरेका कारण पुल सङ्कटमा पर्दै गएको हो । 

वर्षायाममा नदीमा आएको बाढीले पूर्वीक्षेत्र कटान गर्दै आइरहेको छ । यो वर्ष आएको बाढीले करिब दुईसय मिटर कटान गरेको देखिन्छ । चौरमा गाडिएका बिजुलीका पोल समेत जमिन कटानले नदीमा पस्न थालेका छन् । नदी किनारमा तटबन्ध नगर्ने हो भने भद्रपुर–३ को महेशपुर बस्ती जोखिममा पर्ने स्थानीय निलम राईले बताए । नदीको पश्चिम तर्फमात्र तटबन्ध गरिएकोले पानीको बहाव पूर्वतर्फ गइरहेकोले पुलसँगै गाउँमा नै क्षति पुग्ने उनले बताए ।

लामो पर्खाइपछि बल्ल–तल्ल पुल सञ्चालनमा आएपछि सो बस्तीका बासिन्दालाई राहत भए पनि पुनः सङ्कट आएको उनको भनाइ छ । तत्काल तटबन्ध नगर्ने हो भने आउँदो वर्षायामको बाढीले धेरै जमिन कटान गर्ने उनले जनाए  ।

मेची नदीको बहाव पूर्व क्षेत्रतर्फ सर्दै आएकोले समयमै तटबन्ध निर्माणमा ध्यान दिन सम्बन्धित वडाध्यक्षलाई जानकारी गराइसकेको प्रस्तावित महेशपुर  बिओपीका सइ युवराज राउतले बताए । पुल सञ्चालनसँगै चहल–पहल बढ्दै गएको यो क्षेत्रमा सबैतर्फबाट पुल जोगाउन सहयोगको भूमिका आवश्यक रहेको उनले बताए । पुल निर्माणकर्ताले नै तटबन्ध गर्नुपर्ने भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठले बताए ।

किन नबनाएको हो, त्यसबारेआफूलाई  जानकारी नभएको उनको भनाइ छ । यो विषयमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलमा तत्काल जानकारी गराइने जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले बताए । केही दिनअघि सो कटान आफूले हेरेको बताउँदै यस विषयमा गम्भीर रहेको उनको भनाइ छ । 

वर्षायाममा मेची नदीमा आएको बाढीका कारण नेपाली भए पनि सबै भारतका बजारमा निर्भर हुने गरेका थिए । अति आवश्यक कामका लागि डुङ्गाको सहायताले सदरमुकाम आउनबाहेक अन्यले आँट गर्न सकेका थिएनन् । 

केही महिनायताबाट पुल सञ्चालनमा आएपछि भद्रपुर–३ महेशपुरमा रहेको सो बस्तीका जनता खुसी देखिएका थिए । पुल सञ्चालनमा आएपछि यो ठाउँमा जनताले राहत महसुस गरेको स्थानीयको भनाइ छ । पुल निर्माण नहुँदा गाउँका बासिन्दा हिउँदमा हिँडेर या साइकलमा सदरमुकाम जाने–आउने गरेका थिए । वडा कार्यालय आउनसमेत नदी पार गर्नुपरेको उनीहरूको भनाइ छ । 

तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निलगिरि निर्माण सेवा प्रालि बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । २ सय ८० मिटर लम्बाइ र १३ मिटर चौडाइको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए । २०७६ फागुनमा पुल सम्पन्न भएको डाँगीको भनाइ छ ।