विजयपुर। टेलर्स व्यवसायी र कपडा पसलका कर्मचारीबीच भएको झगडापछि ‘कमिसन’ लिनेदिने गरेको खुलेको छ ।
कपडा पसल र टेलर्स व्यवसायीबीच निश्चित रकम दिने र लिने गरेको खुलेको हो । यसअघि पनि कमिसनको खेल हुने गरेको बताउँदै आए पनि पुष्टि हुन सकेको थिएन । सोमबार बालाजी वस्त्रालयका कर्मचारी र गुडलक टेलर्सका सञ्चालकबीच दोहोरो हानाहान भएको थियो । वस्त्रालयका सुमन परियार र गुडलकका फिरोज सिद्दिकीबीच कुटाकुट भएको थियो । गुडलकका सिद्दिकीले परियारविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरीसमेत दिएका थिए ।
तर, घटना घट्नुको पछाडिको कारण ‘कमिसनको चक्कर’ रहेको खुलेको छ । कपडा पसलले टेलर्समा पठाउँदा टेलर्स सञ्चालकबाट कमिसन लिने र टेलर्स सञ्चालकले कपडा किन्ने ग्राहक पठाएबापत कमिसन लिने गर्दै आएको खुलेको छ । कपडा पसलले र टेलर्सले कमिसन लिने र दिने गरेको टेलर्सवालाले नै बताएका छन् ।
टेलर्स सञ्चालकका अनुसार एक जोर कोट–पाइन्ट सिलाउन ग्राहक पठाउँदा कपडा पसलले ७ सय रुपैयाँ कमिसन लिने गरेका छन् । उनीहरूले महिलाहरूको कपडा पठाउँदा ५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म लिने गरेको नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ धरानका निवर्तमान अध्यक्षसमेत रहेका शोनी टेलर्सका सञ्चालक इम्तियाज अलीले बताए । उनले भने, ‘सबै कपडा पसलले कमिसन लिन्छन् ।’ उनले थपे, ‘अन्य कपडा पसलका श्रमिकले लिन्छन्, बालाजी कपडा पसलको चाहिँ साहुले नै लिन्छन् ।’
उनले कमिसन दिनु बाध्यता रहेको बताए । ‘कमिसन दिएनौं भने हाम्रो काम नै हुँदैन’ –उनले भने । गुडलक टेलर्सका फिरोज सिद्दिकीले पनि कमिसन दिने गरेको स्वीकार गरेका छन् । तर, यता बालाजी कपडा पसलका सञ्चालक आनन्द अग्रवालले भने कमिसन लिने गरेको स्वीकार गरेनन् । उनले भने, ‘आफू पनि लिन्नँ, आफ्नोमा काम गर्ने श्रमिकले पनि लिँदैनन् ।’ उनले आफू नलिने तर, अन्य कपडा पसलले लिने गरेको आरोप लगाए । तर, टेलर्स सञ्चालकहरूले भने बालाजी कपडा पसलको मालिकले नै कमिसन लिने गरेको दाबी गरे ।
झगडाको बिउ कमिसन
धरान–१२ महेन्द्र पथमा रहेको बालाजी कपडा पसलमा २ जना ग्राहक आएर सुर्टको कपडा खरिद गरे । खरिद गरेपछि सिलाउनु प¥यो । कपडा सिलाउन कपडा पसलले नै टेलर्स सञ्चालकलाई बोलाइदिने भए । बालाजी कपडा पसलका सञ्चालक आनन्द अग्रवालले गुडलक टेलर्सका सञ्चालक फिरोज सिद्दिकीलाई फोन गरे ।
फोन गर्दा अली खाना खाइरहेका थिए । कपडा सिलाउन फोन गरेपछि खाना छोडेर आएको सिद्दिकीले बताए । सिद्दिकी बालाजी पसल आइपुग्दा कपडावाला ग्राहक हिँडिसकेका थिए । ‘ग्राहक गइसकेका रहेछन्, फर्किएर आएँ’ उनले भने, ‘फर्किएर आउँदा आफ्नै टेलर्स नजिक रहेको अर्को टेलर्समा ग्राहकले कपडा नपाउँदै ९छेकाउँदै० गरेको देखेँ ।’
छिमेकी टेलर्समा कपडा नाप्दै गरेको देखेपछि पुनः बालाजी कपडा पसलमा गए । बालाजीका मालिक अग्रवाललाई श्रमिक सुमन परियारले आफूबाट कमिसन लिएर अर्को टेलर्समा कपडा दिएको आरोप लगाएको परियारले बताए । उनले भने, ‘मलाई पैसा चोर्छ समेत भनेछन् ।’ श्रमिकले पसलमा जे पनि गर्ने रहेछ भन्दै कुरा लगाएको श्रमिक परियारले दाबी गरे । आफूले कहाँ कमिसन लिएको वा चोरेको भनेर सोध्न जाँदा हातपात गरेको उनको दाबी छ । उनले भने, ‘मलाई कैँचीले हान्यो ।’
यता टेलर्स सञ्चालक सिद्दिकी भने आफ्नो पसलको डेस्कमा हानेको बताउँछन् । उनी पनि परियारले आफूलाई हात लगाएको दाबी गर्छन् । बालाजीका सञ्चालक अग्रवालले दुवैपक्ष अर्को टेलर्स र श्रमिक भाइलाई राखेर बुझ्दा कमिसन लिएको नपाएको बताए । तर, स्रोतले बताएअनुसार टेलर्सले पनि कमिसन दिने बालाजीका मालिकले पनि लिनेदिने गरेको बताए । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमप्रसाद ओलीले दुवै पक्ष कार्यालयमा मिलेर नै आएका जानकारी दिए ।
धरान उपमहानगरभित्र सञ्चालित टेलर्सहरूले मनोमानी तरिकाले ज्याला लिने गरेका छन् । उपमहानगरले ज्यालादर निर्धारण गरिदिए राम्रो हुने टेलर्स सञ्चालकले बताए । टेलर्स सञ्चालक इम्तियाज अलीले भने, ‘उपमहानगरले ज्यालादर निर्धारण गरिदिए ग्राहक पनि मारमा नपर्ने र टेलर्स सञ्चालकलाई पनि सहज हुन्थ्यो ।’ धरान उपमहानगरकी उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक मञ्जु भण्डारी सुवेदीले सम्बन्धित पक्षसँग समन्वय गरेर निष्कर्ष निकाल्ने बताइन् । उनले कमिसनले जनता मारमा पर्ने भन्दै तत्काल प्रक्रिया अघि बढाउने बताइन् ।