विराटनगर । स्टिमेट बिल जारी गरि कारोबार गर्ने व्यवसायिक फर्महरूलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारवाहीको दायरमा ल्याएको छ ।
भ्याट तथा प्यान बिल जारी गरि कारोबार गर्नुपर्ने व्यवसायिक फर्महरूले स्टिमेट बिल जारी गरि कारोबार गरेको पाइएपछि कारवाहीको दायरामा ल्याएको हो ।
विराटनगरस्थित गणनायक मार्केटिङ्ग र अधिकारी किराना पसलले स्टिमेट बिलमा कारोबार गरेको भेटिएपछि जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । गणनायक मार्केटिङलाई २० हजार र अधिकारी किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो । ‘कुनै पनि व्यवसायिक फर्महरूले भ्याट वा प्यान नम्बर भएको बिल बिजकको प्रयोग गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ उनले भने, ‘अनुगमनको क्रममा स्टिमेट बिलमा कारोबार गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायरामा ल्याएको हौं ।’ विराटनगरका धेरै खुद्रा पसलहरूले स्टिमेट बिलको प्रयोग गर्दै आएका छन् । ‘हामीले धेरै पसलहरूलाई सचेत गराएका छौं,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘स्टिमेट बिलमा कारोबार गरेको भेटिए कारवाहीको दायरामा ल्याउनेछौं ।’