इटहरी। थोत्रा नक्सा, पुरातन शैली, रुखा कर्मचारी बस्ने अड्डाका रूपमा परिचय बनाएको नापी कार्यालयको परिचय फेरिँदै छ । पुरानो परिचयलाई मेट्न अहिले सुनसरी नापी कार्यालयलाई आधुनिक बनाउन डिजिटल प्रणालीमा रूपान्तरण गरिने काम लगभग अन्तिम चरणमा पुगेको छ । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी कार्यालयसँग जोडिएका धेरै जनगुनासालाई न्यूनीकरण गर्न यो कामको सुरुवात गरिएको अधिकारीहरू बताउँछन् । नापी कार्यालयलाई डिजिटल कार्यालय बनाइएपछि त्यहाँ पुग्ने सेवाग्राहीहरू समेत मख्ख हुने गरेका छन् । डिजिटल बनेसँगै नापी कार्यालयमा हुने बिचौलियाको बिगबिगीसमेत केही हदसम्म हटेको छ । सोमबार जग्गाको नक्सा निकाल्न नापी कार्यालय पुगेका इटहरीका फलंैचा क्याफेका सञ्चालक दिव्य गुरुङले नापी कार्यालयले रूप फेर्दै गरेको जनाए ।

‘पहिला–पहिला कार्यालयभित्र बिचौलियाको भीड देखिन्थ्यो, अहिले भित्र छिर्न पनि पाउँदैन रहेछन्, त्यो देखेर खुसी लाग्यो’ उनले भने, ‘नापी कार्यालय यतिको व्यवस्थित हुन्छजस्तो लागेको थिएन ।’ नापी कार्यालय डिजिटलमय भएपछि सेवाग्राहीहरूलाई धेरै राहत पुगेको लेखापढी व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजकुमार पोखरेल बताउँछन् । लथालिङ्ग नक्साहरू कम्प्युटरमा भेटिन थालेको कारण सेवाग्राहीहरूलाई निकै सहज भएको उनको बुझाइ छ । ‘तर, नापी कार्यालयमा अमिनहरू भने कार्यालयमा धेरै समय भेटिँदैनन्’ उनले भने, ‘कार्यालयमा अमिनहरू दिनभर राख्ने व्यवस्था गरिनु पर्छ ।’

केही समयअघिसम्म अस्त–व्यस्त रहने गरेको उक्त कार्यालयका नापनक्सा हराउने र जोसुकैले जथाभावी लैजाने गरेकाले जग्गाका नाप तथा दस्तावेजलाई कम्प्युटरमा राख्न थालिएको कार्यालयका भागत यादव बताउँछन् । उनले भने, ‘यो भद्रगोल स्थितिलाई व्यवस्थित बनाउन हामी लागिपरेका छौं । अब चाहिँ नक्सा हराउने समस्या समाधान हुने र सेवाग्राहीले भनेको बेलामा हामी जग्गाको नक्सा निकालिदिन सक्छौं ।’

नापी कार्यालय सुनसरी क्रमशः डिजिटल बनाउँदै लगिएको सुनसरीका प्रमुख नापी अधिकृत सञ्जीवकुमार साह बताउँछन् । ‘डिजिटल बन्दा कर्मचारीहरू र सेवाग्राहीलाई दुवैलाई सहज हँुदै गएको बताए हामीले कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगेका छौं, योभन्दा धेरै गर्न सक्ने अवस्था नै छैन’ –उनी भन्छन् । कार्यालयका पुरानो कर्मचारीहरूलाई समेत आन्तरिक तालिम गराएर पनि डिजिटलमैत्री काम गर्न सक्ने बनाएको उनी बताउँछन् । हाल कार्यालयले गतिविधि निगरानीमा राख्न सिसी क्यामेरा जडान गरेको छ ।

नापी कार्यालयमा अनियमितता हुने र सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो आउने हुँदा क्यामेरा जडान गर्नुको साथै डिजिटल प्रविधिबाट काम थालेको कार्यालय प्रमुख साहले बताए । कार्यालयमा भएका नक्सा र ट्रेस कम्प्युटराइज गरिने काम अन्तिम चरणमा पुगेको उनी बताउँछन् । अहिले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका रेकर्डहरू कम्प्युटरमा राखेर नापीका दस्तावेजलाई डिजिटल बनाउने अभियान अन्तिम चरणमा पुगेको छ । 

सेवाग्राहीले काम लिंँदै गएपछि क्रमशः शतप्रतिशत कम्प्युटराइज हुने उनको भनाइ छ । नापी कार्यालयले कार्यालय समयमा सेवाग्राहीलाई सहज बनाउन व्यवस्थापन गरिरहेको कार्यालय प्रमुख साह बताउँछन् । हातले कित्ताकाट गर्दा कहिलेकाहीँ मानवीय त्रुटि हुने भए पनि सबै कम्प्युटराइज भएपछि एकिन नापनक्सा आउने हुँदा यथाशक्य छिटो सबै कम्प्युटराइज गर्ने काम भइरहेको साहले जानकारी दिए । डिजिटल बनेपछि पहिले ३ घण्टा लाग्ने नक्सा र ट्रेसको काम अहिले थोरै समयमा हुने उनको दाबी छ ।

कर्मचारी अभाव हुँदा समस्या

पुराना जनशक्तिका कारण पनि नापी कार्यालयहरूका काम चुस्त हुन नसकेको कर्मचारीहरू बताउँछन् । त्यहीँमाथि दरबन्दीअनुसार कर्मचारी अभावले पनि भनेको बेलामा सेवाग्राहीको काम हुन नसकेको उनीहरू बताउँछन् । तर, कम्प्युटर प्रणालीमा गइसकेपछि धेरै जनाको काम एकजना व्यक्तिले गर्नसक्ने भएकाले सेवाग्राहीको काम सहज हुने विश्वास नापी कार्यालयका कर्मचारीले गरेका छन् ।

दरबन्दी अनुसारको कर्मचारी कार्यालयमा नहुँदा थप समस्या भइरहेको नापी प्रमुख सञ्जीवकुमार साह बताउँछन् । कार्यालयमा कर्मचारी अभाव हुँदा समस्या भइरहेको उनको भनाइ छ । २९ जना दरबन्दी भएको सुनसरी नापी कार्यालयमा दरबन्दी अनुसारको ९ जना कर्मचारी रिक्त छ । दरबन्दी अनुसारको नौ जना कर्मचारी नहुँदा कार्यालयमा काम गर्न समस्या भइरहेको छ । ‘तर, हामीले जनताको काम रोकेका छैनौ’ उनी भन्छन् । 

भरपर्दो मेसिन

अहिले हरेक क्षेत्र प्रविधिमय बनेको छ । ठूलादेखि सामान्य कार्यालयसम्म, सामाजिक सङ्घ–संस्थादेखि व्यक्तिको घरसम्म प्रविधिको पहुँच छ । यतिमात्र होइन, सामान्य काम लिएर सरकारी कार्यालय पुगे सोही ठाउँमा काम बन्छ । तर, ठूलो आकारमा र स्पष्ट नक्सा पास गर्नुपरे अर्थात् फोटोकपी गर्नुपर्नेमा समस्या नै छ ।

ठूलो मेसिन कुनै सरकारी कार्यालयमा छैन । जिल्लाका ठूलो भनिने प्रेसमा पनि श्रेस्ता अर्थात् नापी कार्यालयको नक्सा उतार्ने मेसिन छैनन्, यसको बावजुद पुरानो मेसिन भएर पनि नापी कार्यालय सुनसरीमा प्रयोग गरिएको काठे मेसिन भरपर्दो र स्पष्ट छ । डिजिटल प्रविधिमै कार्यालय गए पनि ठूला नक्सा निकाल्न भने यसको प्रयोग हुँदै आएको छ ।