विजयपुर । धरान उपमहानगरपालिकाले बजार व्यवस्थापन गर्न भन्दै फुटपाथमा व्यापार गर्नेहरुलाई हटाउने अभियान शुरु गरेको छ ।
सोमबार धरानका गौतमपथ, नरेन्द्रपथ र भानुचौकको लोकतान्त्रिक चौतारी आसपासका फुटपाथ पसल हटाइएको छ । पहिलो चरणमा व्यवसायीलाई सम्झाएर हटाईएको उपमहानगरपाकिलाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनले पहिलो चरणमा वडा नं.–२, ३, र १२ गरि ३ वटा वडाका फुटपाथ व्यापारीलाई हटाउने जानकारी दिए ।
बजार क्षेत्रमा सडकलाई नै अवरोध हुनेगरि टिनको छाना र त्रिपाल लगाएर व्यापार गर्न थालेपछि उठाउने अभियान शुरु गरेको नगर प्रहरीका प्रमुख बिष्णु कोइरालाले बताए । उनले भने, ‘सडकपेटीमा फुटपाथ व्यापार गर्नाले आपतमा बारुणयन्त्र र एम्बुलेन्स समेत छिर्न गाह्रो पर्छ ।’
उनले पहिलो चरणमा बजार क्षेत्रका फुटपाथ व्यापारीलाई उठाउने र क्रमशः अन्य क्षेत्रमा अभियान चलाउने बताए । उनले व्यवसायीले कहाँसम्म समान राखेर बेच्न पाउने भनेर ७ दिनमा चिन्ह (मार्क गर्ने) लगाउने र त्यसपछि बन्द गर्ने बताए । अब टिनको छानो, त्रिपाल, कपडा, सागसब्जी सबै समानहरु सडक ड्रेन भन्दा बाहिर आउने गरि राख्न नपाइने उपमहानगरपालिकाले जनाएको छ । त्यसरी राखिए समान बरामद गरिने बताइएको छ ।
यता फुटपाथ व्यवसायीले भने नगरले गरिखान नदिएको बताएका छन् । गौतमपथमा फुटपाथमा व्यापार गर्ने ६२ वर्षीया फुलमाया विश्वकर्माले उठाएपछि समस्यामा परेको बताइन् । उनले भनिन् ‘गुन्द्रुक बचेर बुढि आमा पाल्दै थिएँ, अब कसरी जिविकोपार्जन गर्नु । नगरले कुनै स्थान दिए हुने थियो ।’ सोहि स्थानका अर्का व्यवसायी प्रेम सुनुवारले गरिखाने बाटो टुटेको बताए ।
धरान उपमहानगर बजार अनुगमन समिति, इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, उपभोक्ता हित संरक्षण समिति र स्थानीय टोल विकास समितिको संयुक्त प्रयासमा फुटपाथ हटाउने अभियान शुरु गरेको प्रमुख कोइरालाले जानकारी दिए । उनले अत्यधिक भिडभाड हुने गौतमपथ आसपासका स्थानमा मोटसाइकल बाहेक अन्य यातायातका साधनलाई प्रवेश गर्न नदिने पनि बताए । उनले ट्राफिक प्रहरी, शसस्त्र प्रहरी र यातायात व्यवसायीसँग समन्वय गरेर बन्द गर्ने बताए ।