सङ्खुवासभा। सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको ४० प्रतिशत काम सकिएको छ । 

जलविद्युत् परियोजनाअन्तर्गत गत सोमबार अरुण नदीमा बाँध निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । आयोजना निर्माण गरिरहेको एसजभिएन कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन उद्घाटन गरेका थिए । अरुण नदीको पानी डाइभर्सन गर्न ४ सय २९ मिटरको सुरुङ निर्माण गरिएको छ ।

सुरुङ उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले परियोजना २०२३ सम्ममा सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सुरुङभित्र यन्त्र राख्ने १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर तथा पाइलट होल ९० मिटर खनिएको छ । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत् गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । फ्याक्सिन्दा दोभान बाँधस्थलमा जयप्रकाश एसोसिएट्स निर्माण कम्पनी तथा विद्युत् गृहस्थल क्षेत्रमा पटेल इञ्जिनियरिङ कन्सल्टेण्टले ठेक्का लिएर काम गरिरहेको छ । ९ सय मेगावाटको अरुण तेस्रो परियोजना २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । 

तल्लो अरुण २०२६ सम्ममा बनि सक्नेः अध्यक्ष शर्मा

भारतीय निर्माण कम्पनी सतलजका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले सन् २०२६ सम्ममा तल्लो अरुण निर्माण गरिसक्ने बताए । शर्माले ९ सय मेगावाटको अरुण तेस्रो २ वर्षभित्र सम्पन्न हुने दाबी गरेका छन् । अरुण तेस्रोको बाँध निर्माणको लागि नदी डाइभर्सनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले ६ सय ७९ मेगावाटको तल्लो अरुण आगामी ५ वर्षभित्रमा पूरा गर्ने दाबी गरेका छन् ।

अरुण तेस्रोका लागि सन् २००८ मा आफूहरूले काम सुरु गरेको सम्झँदै  शर्माले भने, ‘अब तल्लो अरुण कम्तिमा ५ वर्षमा निर्माण गरेर बिजुली उत्पादन गरिसक्छौं, यस्तो ढिलाइ हुने छैन ।’ गत शुक्रबार लगानी बोर्ड बैठकले ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको थियो । ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको सोही कम्पनीलाई जिम्मा दिएको हो ।