विराटनगर। अवैध चोरी तस्करी गर्ने गिरोहले ठूलो परिमाणमा भारततर्फ डिजेल तस्करी गरी लैजाँदै गरेको सूचना पाएपछि नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ । तस्करको आक्रमणमा परी मोरङको प्रहरी चौकी मझारेका प्रमुख असइ रामकुमार माझी गम्भीर घाइते भएका हुन् ।
मोरङको दक्षिण–पूर्वी क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी भइरहेको सूचना शनिबार राति माझीलाई आएको थियो । उनी बा.२ ब ५६२८ नम्बरको मोटरसाइकलमा हतियारै नबोकी घटनास्थल पुगेका थिए । डिजेल तस्करी भइरहेको गोप्य सूचनाका आधारमा माझीले जहदा गाउँपालिका–५ लक्ष्मीनीयाको एनसेल टावरनजिक को.१४ प ७६३ नम्बरको मोटरसाइकलमा डिजेल बोकेर गइरहेको अवस्थामा रोक्न खोज्दा मोटरसाइकल चालक जहदा–७ का २१ वर्षीय बब्लु साहले आक्रमण गरेर घाइते बनाए ।
आक्रमणमा परी घाइते भएका माझीको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ । माझीको नाकको हड्डी भाँच्चिएको, दुवै आँखामा चोट लागेको र ओठ पनि काटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । साह डिजेल तस्करको नाइके हुन् । साहले भरिया प्रयोग गरी मोरङको दक्षिण–पूर्वी सीमानाका हुँदै डिजेल तस्करी गरी भारततिर लैजाने गरेका छन् ।
‘तस्करीको डिजेल बरामद गरेपछि साहले प्रहरी सहायक निरीक्षक माझीको ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए’ डिएसपी राईले भने, ‘तर, माझीको मद्दतका लागि आएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएर उद्धार ग¥यो ।’
साहले मोटरसाइकलमा ५०–५० लिटरका तीनवटा ड्रममा १ सय ५० लिटर डिजेल बोकेर भारततर्फ गइरहेका थियो । पक्राउ परेका साहले रातको समयमा नचिनेकाले अरू कोही भएको हुनसक्ने आशङ्का गरेर आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।
डिजेल, पेट्रोल नेपालभन्दा भारतमा महँगो भएकाले सुरक्षाकर्मी, पेट्रोलपम्प र नेपाल आयल निगम प्रदेश १ कार्यालयको सेटिङमा तस्करी हुँदै आएको छ । साह लामो समयदेखि डिजेल, पेट्रोल तस्करी गर्ने गिरोहका नाइके भएको प्रहरीको भनाइ छ । प्रदेश १ मा डिजेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय आठ रुपैयाँ ५० पैसा रहेको तर, नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर ३७ रुपैयाँ ६४ पैसा र पेट्रोल ३२ रुपैयाँ २६ पैसा महँगोे भएकोले तस्करी हुने गरेको छ ।