विराटनगर । ठगी आरोपमा पक्राउ परेका मोरङको रंगेली रेडक्रस सोसाइटीका सभापति तथा पूर्वशिक्षक विनोद मण्डल धरौटीमा छुटेका छन् । 

मिटरब्याजको धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका रंगेली नगरपालिका–६ मधुवनी घर भएका ५५ वर्षीय मण्डल १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालासले मण्डललाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी रकम बुझाएर मण्डल छुटेको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । 

गैरकानूनी मानिएको मिटरब्याजमा ८ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोज्दा उनी फक्राउ परेका थिए । शिक्षक मण्डल रंगेलीस्थित पब्लिक मावि स्कूलका सेवानिवृत्त शिक्षक हुन् । रंगेली बजारदेखि पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको थियो । प्रहरीले अनुसन्धान पूरा गरि सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा मुद्दा दर्ता भएको थियो ।