विराटनगर । मोरङका दुई उद्योगले उत्पादन गर्ने छडको मूल्य प्रतिकेजी ८ रुपैयाँ घटाएका छन् ।
पछिल्लो एक महिनामै छडको मूल्य अप्रत्याशित महंगिएपछि मोरङका आरती स्ट्रिप्स र हुलास वायर इन्डस्ट्रिजले मूल्य घटाएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि विकास निर्माणको सिजन सुरु भएलगत्तै छडको मूल्य बढेको थियो । छडको मूल्य अप्रत्याशित महंगिएपछि माघ ४ मा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितमा जिल्ला प्रशासन कार्यालय मोरङमा उद्योगका संचालहरूको उपस्थितमा बैठक बसेको थियो । आरती स्ट्रिप्सले प्रतिकेजी ८६ रुपैयाँ र हुलासले ८० रुपैयाँ प्रतिकेजी छड विक्री गर्दै आएका थिए । सिडियो कार्यालयमा बैठक बसेको दुई सातापछि मोरङका दुई उद्योगले मूल्य घटाएको वाणिज्य कार्यालयलाई जानकारी गराएको हो ।
बैठकपछि आरतीले अहिले ७८ रुपैयाँ र हुलासले ७२ रुपैयाँ प्रतिकेजी छडको मूल्य कायम गरेको पत्र वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरमा पत्र पठाएको निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । मोरङ र सुनसरीमा पाँच वटा छडको उद्योग रहेका छन् । प्रियियर, पशुपति र कमला उद्योगले मूल्य घटाएको दररेट अहिलेसम्म नपठाएको उनले जानकारी दिए ।
दररेट नबुझाएको तीन उद्योगले मनपरी तरिकाले मूल्य बढाएर छड विक्री वितरण गरेको पाइए कारवाहीको दायारामा ल्याउने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपालले जानकारी दिए ।
तर, यस अघि फलामजन्य छड, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको निर्माण व्यवसायीहरूले आरोप लगाउँदै आएका थिए । यहाँका उद्योगले उत्पादन गरेको छडको ब्रान्डअनुसार मूल्य पनि फरकफरक रहेको छ । कुनै पनि उद्योगको छडमा एकरुपमा मूल्य छैन । जसले गर्दा उपभोक्ता मारमा छन् ।