भद्रपुर । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन बन्द राखिएको भद्रपुर नाका नखुलेपछि भद्रपुर लगायत दक्षिणी झापाका स्थानीय निराश बनेका छन् । 

बन्द राखिएको भद्रपुर नाका अझै खुलाउने केही पहल गरिएको छैन । सरकारले काँकडभिट्टापछि खजुरगाछी नाका खुलाउने माघ ११ गते निर्णय गरेपछि यहाँका बासिन्दामा थप अन्यौलता छाएको छ । 

घरायसी सामान तथा औषधि खरिद वा आफन्त भेट्न भारत जानु परेमा घुमेर काँकडभिट्टा वा लुकेर चोर बाटोबाट भारत जानु पर्ने बाध्यताले थप सास्ती झेल्नु परेको स्थानीयवासी बताउँछन् । भद्रपुरको मेची पुलबाहेक सबै नाकाहरूबाट सहजै रुपमा दुवै देशका नागरिक आवतजावत गरिरहेको उनीहरुको भनाइ छ । भद्रपुर नाका पनि खुलाउनु पर्छ भनी मेची पुलमा यसअघि पटक पटक स्थानीयले धर्ना दिएका थिए । तर, सरकारले भद्रपुर नाका पूर्ण रुपमा खुलाउने अहिलेसम्म कुनै निर्णय गरेको छैन । भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको जिल्लामा दुइटा मुख्य नाका काँकडभिट्टा र भद्रपुरमा दुवै नाकामा मूल भन्सार रहेको छ ।

करोडौँ लागतमा निर्माण गरिएको मेची पुललाई सदुपयोग गर्न नपाउँदा स्थानीयलाई समस्या भइरहेको युवा उद्योगी विनय गोयलले बताए । भारत जानु परेमा यहाँबाट घुमेर काँकडभिट्टा नाका जानु परेको उनको भनाइ छ । भद्रपुरको मेची पुलबाट मान्छे हिड्न बन्देज लगाइएको मात्र हो , खोलाबाट सहज रुपमा मान्छे ओहोरदोहोर गरीरहेको उनले बताए । कोरोना नियन्त्रणको नाममा सरकारले भद्रपुर नाका बन्द गरेर जनतालाई थप सास्ती दिइरहेको उनले जनाए ।    सरकारले भद्रपुरलाई जहिले अपेक्षित गर्दाको परिणाम भएको नेपाल चिया उत्पादक सङ्घका सल्लाहकार जेपी शर्माले बताए । जिल्लामा दुई वटा मुख्य नाकामा मूल भन्सार भएपनि काँकडभिट्टा नाका खोलेर भद्रपुर बन्द गर्नु सरकारको निर्णय गलत भएको उनले बताए । भद्रपुर नाका खुलाउने विषयमा यहाँका जनप्रतिनिधि र सांसदले चासो नदेखाएकामो आश्चर्य लागेको उनले बताए ।     

सरकारले नाका बन्द राख्ने कागजमा निर्णय गरे पनि त्यसको कार्यान्वयन व्यवहारमा लागु भएको नभएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले बताए । मेची पुलबाहेक सबै नाका र ठाउँहरू खुला रहेको उनले बताए  । दैनिक सयौँ मानिस आवतजावत गरिरहेका छन्, तर भद्रपुर नाका बन्द छ, यो कस्तो विडम्बना हो उनले भने ।’ नाकालाई तत्काल खुलाउन पहल गरिदिन उनले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनासमक्ष अनुरोध समेत गरेका छन् । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले मुख्य भन्सार रहेको भद्रपुरलाई बन्द राख्ने निर्णय सही नभएको बताएका छन् । भन्सारमा सरसामान आउन दिने तर स्थानीयलाई घरायसी सामान खरिद, आफन्त भेटघाट गर्न जान नदिने निर्णय सरकारले तत्काल सच्याउनु पर्ने उनको भनाई छ । मूल भन्सार भएको नाकालाई मूल नाकाकै रुपमा सरकारले दर्जा दिनु पर्ने उनको धारणा छ ।  

जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू छ । तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ । चैत ११ गते बन्द राखिएको जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन । काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान पाउने सरकारले निर्णय गरेको छ ।

सरकारले मुख्य नाकालाई प्राथमिकतामा राखेर नाका खुलाउनु पर्नेमा गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा थप १६ वटा नाका खुलाउने भनी माघ ११ गते निर्णय गरेको थियो ।

थप खुलाउने नाकाहरूमा जिल्लाको दोस्रो मुख्य नाका भद्रपुर परेन । त्यसमा झापाको खजुरगाछी नाका राखियो । विहारको फत्तेपुर नाकासँग जोडिएको गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा मेची भन्सार कार्यालय अन्तरगत आठ मौजा छोटी भन्सार रहेको छ ।

सो नाका आइतबारदेखि सञ्चालनमा आएको झापाका प्रमुख जिल्ला अधिकारी र तिमल्सिनाले बताए । माई पूर्व र माई पश्चिम झापावासीलाई लक्षित सरकारले दुइटा नाका खुलाएको प्रजिअ तिमल्सिनाले बताए । ती दुई नाकाबाट घरायसी सामान किनमेल, नातागोता भेटघाट, खेतीपाती गर्न जान पाइन्छ, अरू नाकाबाट जान नपाइने उनले बताए ।