धरान। भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदानमा वृद्धि गर्ने गरी केन्द्रीय बजेट सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष २०२१–०२२ को केन्द्रीय वार्षिक बजेट सार्वजनिक गर्ने क्रममा गत वर्षको तुलmनामा अबको बजेटमा अनुदान वृद्धि गरेको हो । भारतले गत वर्षभन्दा यस वर्ष १ अर्ब ८९ करोड रुपैयाँ (एक अर्ब १२ करोड भारु) ले बजेट वृद्धि गरेको हो ।

सोमबार वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपालले पाउँदै आएको अनुदान १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) रहेको छ । अघिल्लो वर्ष भारतले १४ अर्ब ८ लाख रुपैयाँ (८ अर्ब ८० करोड भारु) मात्रै दिएको थियो । 

भारत सरकारले नेपालसहित १० देशहरूलाई ६२ अर्ब ५१ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । जसमा सबैभन्दा बढी भुटानलाई अनुदान दिने घोषणा गरेको छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याउँदै सबैभन्दा बढी प्राथमिकतामा यातायात सम्पर्क सञ्जाल निर्माणलाई राखिएको छ ।

भारतीय विदेश मन्त्रालयको आधा बजेट अनुदानमा जाने गरेको छ । आगामी आर्थिक वर्षमा १ खर्ब ७३ अर्ब ४६ करोड भारतीय रुपैयाँ विदेश मन्त्रालयको बजेट छ । भारत सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

कोरोना भाइरसविरुद्धको खोपमा मात्रै ३५ सय करोड बजेट विनियोजन गरेको छ । बजेटमा पेट्रोल र डिजेलको भाउ समेत बढ्ने देखाएको छ । पेट्रोलमा ४ रुपैयाँ भारु र डिजेलमा २ रुपैयाँ भारु बढ्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।