बेलबारी । केहि वर्ष अघिदेखी कटान गरी घाट गद्यी गरेर वन क्षेत्रमा राखिएको सखुवाको गोलिया सरकारको स्पस्ट नीति अभावमा घाट गद्यीमै कुहिन थालेको छन् ।
सरकारले गत जेठ १५ देखि जंगलवाट काठ निकाल्न रोक लगाएप्छि मोरङको चारकोसे जंगलमा घाट गद्यी गरेर राखिएको ६९ हजार क्यूफिट सखुवाको गोलिया काठ घाट गद्यीमै कुहिन थालेका हुन् ।
यता आफ्नै जंगलको सखुवाको काठ निकाल्न रोक लगाएपछि विदेशी मुलूक भारत, थाइल्याण्ड र मलेसियावाट वार्षिक रुपमा झण्डै ४० करोड मूल्यको खसुवाको काठ आयात भएको विराटनगर भन्सारको तथ्याङक छ । डिभिजन वन कार्यालय मोरङका अनुसार चारकोसे जंगलमा रहेका १ सय ३४ वटा सामुदायिक र चारवटा साझेदारी वन समुहले संकलन गरेको ६९ हजार क्यू फिट सखुवाको काठ र करिव २५ हजार क्यू फिट कु काठ कुहिन थालेको हो ।
सखुवाको काठको बजार मूल्य अहिले प्रति क्यू फिट ५ हजार ५ सय रुपैयाँ छ । सरकारी औसत मुल्य सखुवाको प्रति क्यू फिट ८ सय छ । डिभिजन वन कार्यालयका अधिकृत दिपक पोखरेलका अनुसार सरकारी औसत मुल्यमा पनि कुहिन थालेको ६९ हजार क्यू फिट सखुवाको मूल्य ५ करोड ५२ लाख हुन्छ ।
बजार मूल्यका आधारमा उक्त काठको मूल्य करिव ३८ करोड हुन्छ । पोखरेलले भने ‘घाट गद्यी गर्दा क बर्गको काठ अहिले कुहिएर ख बर्गमा परिणत भएको छ । ख बर्गको ग बर्गमा झरेको छ । ग वर्गको काठ कुहिएर कामै नलाग्ने भएको छ ।’
सरकारले जेठ १५ गतेदेखि जंगलवाट काठ निकाल्न रोक लगाउनुअघि जेठ १४ सम्ममा घाट गद्यी गरिएको हो । डिभिजन वन कार्यालय मोरङका अनुसार त्यसयता घाट गद्यी नगरिएको ढलापडा रुख जंगलमै कुहिएका छन् ।
यहि माघ ११ को मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गर्दै वैज्ञानिक वन कार्यक्रम कार्य योजना कार्यान्वयनमा रोक लगाएको छ ।