विराटनगर । मिटरब्याजको धन्दा चलाउँदै आएका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध सरकारी वकिलको कार्यालयले १७ थान मुद्दामा छुटा–छुट्टै माग दाबी राखेर मोरङ अदालतमा अभियोग दर्ता गरेको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैद र ठगी अनुसारको जरीवानाको माग दाबी गरेको हो । 

ठगीतर्फ मुलुकी अपराध संहिताको दफा २५३ को उपदफा (१) र (२) वमोजिम सात वर्षसम्म कैद र जरिवानाको मागदाबी छ । यस्तै अपराधिक लाभ लिएको मुद्दामा अपराध संहिता, २०७४ को दफा २५३ को उपदफा (३) को देहाय (क) वमोजिम सात वर्षसम्म कैद र ठगी गरेको जरिवानाको माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला सहायक न्यायधिवक्ता मनिषबाबु पोखरेलले जानकारी दिए । 

मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख  ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको छ । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ । 

सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा १३ माघमा मन्टु विरूद्ध मुद्दा दर्ता गरेपछि अहिले बयान सुरू भएको छ । १४ माघदेखि मोरङ अदालतको ५ नम्बर इजालशमा मन्टुको बयान जारी छ ।  वारदात र मन्टुबाट पीडित भएका छुटा छुट्टै भएकोले सरकारी वकिलको कार्यालय अलग अलग माग दाबी गरेखेर १७ थान मुद्दा दर्ता गरेको सहायक जिल्ला न्यायधीवक्ता मनिषबावु पोखरेलले जानकारी दिए ।