धरान। वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियन्त्रित रूपमा रुख कटान भएको भन्दै निकै विवादित बनेपछि अन्ततः ‘कार्यविधि’ नै खारेज गरिएको छ । 

माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि-२०७१’ खारेज गरेको हो । खारेज गरिए पनि हालसम्म राजपत्रमा प्रकाशित गरिएको छैन । चाँडै नै राजपत्रमा प्रकाशित गरेर वैधानिकता दिन लागिएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । उनले वैज्ञानिक वनको नाममा अनियन्त्रित रूपमा रूख कटान भएकाले त्यसलाई रोक्नका लागि कार्यविधि नै खारेज गरिएको बताए । 

कार्यविधि खारेज गरिएसँगै विगतमा सुरु भएका वैज्ञानिक वन व्यवस्थापनको काम अब रोकिने भएको हो । वैज्ञानिक वन व्यवस्थापन देशभरका विभिन्न भागमा सुरु गरिएको थियो । विशेषगरी राष्ट्रिय वनक्षेत्रमा पनि वैज्ञानिक वन व्यवस्थापनको नाममा कटान, छपान गरिँदै आएको थियो ।

जसले गर्दा अनियन्त्रित रूपमा रुख कटान भएको निष्कर्ष निकालिएको थियो । भएका काठहरू कुहिँदै गएको अवस्था रहेको र पुनः कटान गरी आर्थिक चलखेल गर्ने नियत राखिएको भन्दै व्यापक विरोध हुँदै आएको थियो । 

सामुदायिक वनहरूले विशेष गरी यसको विरोध गर्दै आएका थिए । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिए पनि यसअघि गरिएको काठ, दाउरा, कटान, मुछान, बिक्री वितरण तथा ओसार–पसारका सम्बन्धमा प्रदेश वन निर्देशनालयमार्फत् अनुगमन गरी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कारबाही गरिने मन्त्री आलेले जानकारी दिए ।