भण्टाबारी । खुला सीमानाका कारण हुँदै आएको चोरीपैठारी रोक्न थप कडाइ गरिनुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजमा आयोजित कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले  चोरीपैठारी रोक्न सीमामा सुरक्षाकर्मीले थप निगरानी बढाउनुपर्नेमा जोड दिए ।

खुला सीमाका कारण पूर्ण रूपमा तस्करी रोक्न सम्भव नभएपनि नियन्त्रण कार्यमा कटिबद्ध भएर लागेको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए । सोही कार्यक्रममा बोल्ने उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालीका ८ नम्बर वडाध्यक्ष विन्देश्वर यादवले चोरीपैठारी नियन्त्रण गर्ने कार्यमा आफूहरूले आफ्नो तहबाट भूमिका खेल्दै आएको दाबी गरे ।

यसैबीच भन्सार दिवसको अवसर आयोजना गरिएको ब्याटमिन्टन  प्रतियोगिताको उपाधी प्रहरी चौकी कोशी ब्यारेजले जितेको छ । फाइनलमा सुनसरी भन्सार कार्यालयका कर्मचारीलाई हराउँदै प्रहरी चौकी कोशी ब्यारेजले उपाधी जितेको हो ।

उपाधी विजेता प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि यादव, सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख अर्जुन न्यौपाने,इन्स्पेक्टर भुवन खड्का लगायतकाले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपानेले नेपाल भारतबीच रहेको खुला सीमाका कारण हुँदै आएको चोरीपैठारी नियन्त्रणमा भन्सारका कर्मचारीका साथै सुरक्षाकर्मी लागिपरेको बताए ।

चोरीपैठारी नियन्त्रणमा सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ छ । यसैबीच प्रदीप शाह सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरीको उत्कृष्ट कर्मचारी भएका छन् । कार्यक्रममा लेखापाल कृपाराज जोशी, नायब सुब्बा यादव श्रेष्ठ,नायब सुब्बा छत्रआले मगर, सई सुरज खवास,असइ मदन चुडाल लगायतको उपस्थिति रहेको थियो ।

khel