विजयपुर। कोशी परियोजनामा काम गर्ने अधिकांश निर्माण कम्पनीहरू दर्ता नै नभएको पाइएको छ । 

स्रोतका अनुसार नयाँ पुराना गरेर ४७ वटा निर्माण कम्पनीले परियोजनामा काम गर्दै आएका छन् । त्यसमध्ये २१ वटा कम्पनीले दश वर्षयतादेखि दर्ता नै नगरी काम गरेको स्रोत बताउँछ । स्रोतका अनुसार चन्द्रशेखरप्रसाद गुप्ता निर्माण सेवा, राजेश भगत, रमेशकुमार यादव निर्माण सेवा, तारा पौड्याल, गणेश ट्रेडर्स, इनरदेव यादव, सूर्यनारायण यादव, हरेराम यादव, रामअफ्तार यादव, तिलक मगर, रामचन्द्र प्रसाद रहेका छन् । दर्ता नभए पनि यी फर्महरूका सञ्चालक मोरङ र सुनसरीका रहेको बताइएको छ । 

त्यस्तै मनिषकुमार झा,  मिथलेस कुमार झा, हीरा राउत, उनित झा,  उमेश यादव, योगिनी भाइ निर्माण सेवा, कैलाश यादव, शिवनारायण यादव, सञ्जय गुप्ता निर्माण सेवा कम्पनीहरू रहेका छन् । यी कम्पनीका सञ्चालक भने सप्तरीका रहेको स्रोतले बतायो । स्रोतले भन्यो, ‘कम्पनी नभई व्यक्तिको नामले काम गरिरहेको छ, नियामक निकाय के हेरेर बस्छ ?’ कोशी सम्झौताअनुसार परियोजनाले ३ वटा काम गर्दै आएको छ । बाढी पहिरो नियन्त्रण, हाइड्रोपावर निर्माण र सिंचाइ रहेका छन् ।  कार्यको लागि भारतीय सरकारले वार्षिक डेढदेखि २ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ ।

यस विषयमा कुन फर्महरू दर्ता छन् वा छैनन् ? कुन–कुन कम्पनीहरू करको दायरामा आएका छन् ? कर चुक्ता गरेका छन् कि छैनन् भनेर आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख तीर्थराज बरालसँग जानकारी लिन खोज्दा सूचना दिन सम्भव नहुने भन्दै पन्छिए । उनले भने, ‘यो आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र होइन ।’ उनले थपे, ‘हामीले नाम हेर्नसम्म त सक्छौँ तर, एउटै धेरै नाम हुन्छ, कुन चाहिँ हो कसरी पत्ता लगाउनु ?’ आन्तरिक राजस्व कार्यालयको काम नै कुन कुन फर्म वा कम्पनी करको दायरा आए आएनन् भनेर निगरानी गर्ने र नआउनेलाई करको दायरामा ल्याउने हो । तर, बरालले कार्यालयको कार्यक्षेत्र नभएको भन्दै पन्छिए ।

यता कोशी परियोजना सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरका अधिकृत सन्तोष चोङ्बाङ (लिम्बू) पहिलेदेखि नै कोशी परियोजनालाई आन्तरिक राजस्व कार्यालयले हेर्ने गरेकाले उक्त कार्यालयलाई नै जानकारी हुनुपर्ने दाबी गर्छन् । अधिकृत चोङ्बाङ (लिम्बू) ले नै आन्तरिक राजस्व कार्यालयलाई जानकारी हुनुपर्ने बताइरहँदा प्रमुख बराल पन्छिनुले कम्पनी तथा फर्म दर्ता गराउन राजस्व कार्यालयले नै बेवास्ता गरेको हो कि भन्ने बुझ्न गाह्रो हुँदैन । 

अधिकृत चोङ्बाङ (लिम्बू) का अनुसार २० वटा निर्माण कम्पनी मात्र गाडी पास लिन सम्पर्क कार्यालयमा दर्ता हुन आएका छन् ।  उनका अनुसार जयन्ती निर्माण सेवा काठमाडौँ, पशुपति निर्माण सेवा भरतपुर चितवन, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.लि. काठमाडौं, अवाले विल्डर्स प्रा.लि.ललितपुर, अरिहन्त कन्स्ट्रक्सन प्रा.लि. वीरपुर, दीपज्योति निर्माण सेवा, दिव्या निर्माण सेवा विराटनगर, प्रकृति कन्स्ट्रक्सन प्रा.लि., सञ्जयकुमार झा मधुवापुर सप्तरी, उमेशकुमार मरवेता श्रीपुर जब्दी, मृत सञ्जीवनी निर्माण सेवा हेटौंडा, युनिक विल्डर्स भारदह सप्तरी, अरविन्दकुमार झा भारदह सप्तरी, सुधीरकुमार यादव पोर्ताहा सप्तरी, निलम टेक्नो एण्ड रियालिटी प्रा.लि. वीरपुर, सावन सप्लायर्स भारदह, राजेश विल्डर्स वीरपुर भारत, कुनाल गुप्ता वीरपुर र लीला ट्रेडर्सले मात्र गाडी पासका लागि दर्ता भएका हुन् । उनले यीमध्ये केही फर्म दर्ता भए पनि सबै दर्ता छन् कि छैनन् जानकारी नभएको बताउँदै दर्ता नहुनेहरूलाई सम्बन्धित निकायले अनुसन्धान गरी करको दायरामा ल्याउनुपर्ने बताए ।

स्रोतले मठियत निर्माण सेवा, प्रिमियर निर्माण सेवा, पूजा कन्स्ट्रक्सन, साह निर्माण सेवा, सोनाखम्बी निर्माण सेवा सुनसरी जिल्लामा दर्ता भएको बताएको छ । कास्यव कन्स्ट्रक्सन, घन्दा कन्स्ट्रक्सन, डाइनामिक निर्माण सेवा सप्तरीमा दर्ता भएको बतायो । स्रोतले १०–१२ वर्षदेखि दर्ता नगरी काम गर्दा पनि नियामक निकायले चासो नलिएको बतायो । स्रोतले नयाँ कम्पनीहरूले पनि दर्ता नगरी काम गर्न थालेको बतायो ।

लामो समयदेखि कोशी परियोजनामा काम गर्ने दीपज्योति निर्माण सेवा कम्पनीका सञ्चालक खगेन्द्र दाहालले आफ्नो कम्पनी कानूनी प्रक्रिया पूरा गरेर सञ्चालन गरेको र अरूको बारेमा आफूलाई जानकारी नभएको बताए । कोशी परियोजनामा काम गर्नका लागि निर्माण व्यवसायीले आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (पान), कर चुक्ता प्रमाण–पत्र, घरेलु तथा साना उद्योगको प्रमाण–पत्र, नेपाली नागरिकता वा पासपोर्टको प्रमाण–पत्र, जिल्ला समन्वय समितिमा दर्ता भएको प्रमाण–पत्र लिनुपर्ने व्यवस्था छ ।