विजयपुर/पत्रकार तारा लामगादेको ‘को हुन् दलित ?’ पुस्तक सार्वजनिक गरिएको छ । 

आइतबार धरानमा एक कार्यक्रमका बीच पत्रकार लामगादे, प्रदेश सांसद् उमिता बराइली, अग्रज पत्रकार तथा विश्लेषक भवानी बराललगायतले पुस्तक सार्वजनिक गरे । त्यसक्रममा अग्रज पत्रकार बरालले दलित समुदायको मुक्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताए ।

पुस्तकको टिप्पणी गर्दै बरालले भने, ‘नेपालमा ठूला परिवर्तन भए पनि दलित मुक्तिको लागि निर्णायक आन्दोलन नभएकै कारण परिवर्तन आउन सकेको छैन ।’ उनले टिआर विश्वकर्मा, हीरालाल विश्वकर्माहरूले गरेको दलित आन्दोलन हुर्किनै नपाएको बताए । उनले दलितसम्बन्धी कमै पुस्तक लेखिने गरेकाले यो पुस्तकबाट दलित आन्दोलनलाई सहयोग पुग्ने बताए । 

प्रदेश सांसद् उमिता बराइलीले कम्युनिष्ट पार्टीले वर्गीय आन्दोलनको कुरा गरे पनि दलितको मुद्दामा खुलेर नलागेको टिप्पणी गरिन् । उनले दलित मुक्तिका लागि फरक–फरक विचारका पछाडि लाग्नुको सट्टा एक भएर आन्दोलन गर्नुपर्ने बताइन् ।

उनले पुस्तक अध्ययन गरेमा दलितको मुद्दा र दलितको विषयमा जानकारी पाइने बताइन् । पुस्तकमा भएका विषयका बारेमा कार्यक्रमकी सभापति अनिता रसाइलीले जानकारी दिइन् । लामगादेको यो छैठौं कृति हो ।