इटहरी। २०७४ सालमा प्रदेशको निर्वाचनताका सर्वध्वज साँवाले इटहरीमा आकाशे पुलसहितको ‘डेटिङ स्पट’ बनाउने कुराले राम्रै चर्चा पायो । तर, हालसम्म पनि डेटिङ स्पट भने बनेको छैन । 

तर, पनि सहरमा पछिल्लो समय खुलेका क्याफे तथा रेष्टुरेण्टहरूले युवायुवतीलाई आकर्षण गरिरहेका छन् । सहर भित्रकै क्याफे र रेष्टुरेण्टहरू डेटिङ स्पट बनेको स्वयम् क्याफे सञ्चालकहरू बताउँछन् ।

घण्टौंसम्म बस्ने स्थलको रूपमा क्याफे र रेष्टुरेण्ट हुने गरेको सञ्चालकहरू बताउँछन् । पछिल्लो समय करोडौंको लगानीमा क्याफे तथा रेष्टुरेण्टहरू खुल्ने क्रम जारी छ । कलात्मक सजावटयुक्त रेष्टुरेण्ट तथा क्याफेहरू युवायुवतीहरूकोे रोजाइमा पर्न थालेका छन् ।

केही समयअघिसम्म पर्यटकीय क्षेत्रमा युवायुवतीहरू पुग्ने गरे पनि अहिले सहरमा बनेका कलात्मक रेष्टुरेण्टमा समय बिताउन थालेको इटहरीका होटल व्यवसायी मनराज बस्नेत बताउँछन् । उनी भन्छन्, ‘अहिले होटलभन्दा पनि रेष्टुरेण्टहरू युवायुवतीको डेटिङ स्पट हुन थालेका छन् ।’

इटहरीको चिन्तन चौतारी होटल युवायुवतीको रोजाइ बन्ने गरेको छ । मौलिक संस्कृति, परम्परा झल्कने कटेज (साना घर) हरूले उनीहरूको मन तान्ने गरेको छ । चिन्तन चौतारीका निर्देशक सोसोहाङ सुब्बा भन्छन्, ‘होटललाई आकर्षित बनाउन अनेक किसिमका जीवजन्तु, परम्परागत घर, परम्परागत घरेलु सामग्री र नेपाली जनजीवन झल्कने कलाकृति छन् ।’

उनका अनुसार यही हेर्नका लागि पनि धेरै युवायुवतीहरू यहाँ आउने गरेका छन् । पर्यटकीय क्षेत्रहरूमा भन्दा पनि रेष्टुरेण्टहरूमा युवायुवतीको आकर्षण बढेको इटहरी–३ का वडाध्यक्ष बालकृष्ण विष्ट बताउँछन् । उनी भन्छन्, ‘तालतलैयामा पर्यटकको सङ्ख्या घटेको छ, चिसोको पनि प्रभाव हुनसक्छ ।’ आधुनिक शैली र परम्परागत शैलीको फ्युजनमा रेष्टुरेण्टहरू बन्न थालेयता युवाहरूको आकर्षण बढेको वडाध्यक्ष विष्टको बुझाइ छ ।