भण्टाबारी। सुनसरीका विभिन्न नाका हुँदै दैनिक रूपमा प्रतिबन्धित बोइलर कुखुरा नेपाल भित्रिने गरेको पाइएको छ । जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै तस्करी गरेर भारतबाट अवैध रूपमा तस्करहरूले प्रतिबन्धित बोइलर कुखुरा भित्र्याउने गरेको पाइएको हो ।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा थप कडाइ गरेको प्रहरीले दाबी गरे पनि बोइलर कुखुरा भित्रिने क्रम भने रोकिएको छैन । जसका कारण सीमावर्ती क्षेत्र हुँदै नेपालमा समेत बर्डफ्लु भित्रिने जोखिम बढेको जानकारहरू बताउँछन् ।

सीमावर्ती क्षेत्रका नाका प्रयोग गरी दैनिक खुलेआम रूपमा नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा भित्रिने गरेको छ । भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइने त्यस्ता कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पु¥याउने गरिएको छ । भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट बोइलर कुखुरा नेपाल भित्र्याउन तस्करहरू सक्रिय रहँदै आएका छन् । नेपालमा २ सय ४० देखि ३ सय प्रतिकेजी पाइने कुखुराको मासु भारतमा भने नेपाली १ सय ४० देखि १ सय ६० रुपैयाँ केजीसम्ममा पाइने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइने बोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटी केही व्यवसायीहरूले सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।

प्रहरीको सक्रियता 

भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीले सक्रियता बढाएसँगै सुनसरीका विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको छ । खासगरी जिल्लाको श्रीपुर, लाही, भण्टाबारी,  साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भित्र्याउने गरिएको स्रोतको दाबी छ ।

केही दिनअघि सुनसरी प्रहरीले भारतबाट ल्याइएका ७४ थान बोइलर कुखुरा कोशी गाउँपालिका–८ बाट नियन्त्रणमा लिई नष्ट गरेको थियो भने भारतबाट गाडीमा लुकाएर ल्याइएका अन्दाजी १ लाख २० हजार मूल्य बराबरको १ सय ४० थान कुखुरा आइतबार राति नियन्त्रणमा लिई सोमबार सशस्त्र प्रहरीले नष्ट गरेको छ ।

भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट इन्स्पेक्टर पूर्ण दाहाल नेतृत्वको टोलीले प्रदेश ३–०१–०२४ च ४३४१ नम्बरको टाटा जोद्दा कम्पनीको गाडीमा ल्याइएको उक्त मूल्य बराबरको बोइलर कुखुरा नष्ट गरेको हो ।

प्रतिबन्धित बोइलर कुखुरा लिएर आउने गाडी चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का ३५ वर्षीय खेमबहादुर भुजेललाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाएको इन्स्पेक्टर दाहालले जानकारी दिए ।

पछिल्लोपटक भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेको समाचार आइरहँदा सीमावर्ती क्षेत्रमा कुखुराको तस्करी भने रोकिएको छैन । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै कुखुराको तस्करी भइरहँदा भारतबाट बर्डफ्लु भित्रिने जोखिम बढेको हो ।

अवैध रूपमा नेपाल भिœयाइने त्यस्ता कुखुरा बरामद गरेर नष्ट गर्नुपर्ने सुनसरीका कुखुरा व्यवसायीहरूको माग छ । सीमावर्ती क्षेत्रबाट नियमितरूपमा बोइलर कुखुरा अवैध रूपमा भित्रिन थालेपछि आफूहरूको व्यापार चौपट भएको सुनसरीका कुखुरा व्यापारी बताउँछन् ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता कुखुरा र कुखुराजन्य पदार्थको तस्करी रोक्न उनीहरूले माग गरेका छन् । खुला सीमा नाकाका कारण सुनसरीको विभिन्न नाका हुँदै भारतबाट सीमामा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा प्रतिबन्धित भारतीय कुखुरा भित्रिने गरेको स्थानीयको आरोप छ ।

यद्यपि प्रहरीले खुला सीमा नाका भएकोले कुखुरा भित्रिए पनि आफूहरूको मिलेमतो नभएको दाबी गर्छन् । भारतमा बर्डफ्लु देखिएपछि नेपालमा प्रतिबन्धित बोइलर कुखुरा वा पशुजन्य वस्तु रोक्न थप कडाइ गर्दै चोरबाटोबाट ल्याइने कुखुरा नियन्त्रणमा लिई नष्ट गर्दै आएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलले बताए ।